Logo

५७ वर्षदेखि भोगचलन गर्दै आएको सम्पत्तिमा रेडक्रस भजनी उपशाखाले डोजर चलाइदिएपछि बाब्ली परिवार विचल्लीमा



काठमाडौं, १८ असार । कैलाली भजनी नगरपालिका–१ का नरबहादुर बाब्लीको घरमा रेडक्रसले डोजर चलाएपछि उनको परिवार विचल्लीमा परेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बाब्लीले आफूले ५७ वर्षदेखि भोगचलन गर्दै आएको सम्पत्तिमा रेडक्रस भजनी उपशाखाले डोजर चलाएको बताएका हुन् ।

गत असार १४ गते घरमा कोही नभएको अवस्थामा नेपाल प्रहरी र भजनी नगर प्रहरीको सहयोगमा रेडक्रसले आफ्नो घर भत्काइदिएको उनको भनाइ छ नरबहादुर अनुसार उक्त जग्गा रेडक्रसले दाबी गर्र्दै आएको थियो । नरबहादुरका बाबु वीरबहादुरले २०२४ सालमा स्थानीय तेजनारायण श्रेष्ठसँग ६ कट्ठा ५ धुरा जग्गा किनेका थिए । सो जग्गा किन्दा मौखिक रुपमा पैसा दिइएको र कुनै दर्ता वा कागज नगरिएको नरबहादुरको भनाइ छ ।

नरबहादुरका अनुसार भोगचलनकै क्रममा २०२६ सालमा सो जग्गा वन कार्यालयले दाबी गरेको थियो । सो जग्गामा २०३६ सालमा वनले फेरि दाबी गर्यो । वनले सो जग्गामा भवन बनाउन खोजेपछि स्थानीयहरुले प्रतिकार गरेका थिए । स्थानीयहरुले प्रतिकार गरेपछि बाब्ली परिवारले सो जग्गा भोगचलन गर्दै आएको थियो ।

२०५५ सालमा छुट जग्गा दर्ता खुलेको बेला आफूले मालपोत कार्यालय धनगढीमा निवेदन दिएको नरबहादुरले सुनाए । उनको अनुसार त्यतिबेला नापी कार्यालयबाट प्राप्त भएको कागजातको कैफियतमा सो जग्गा ‘तेजनारायण श्रेष्ठ (जग्गा बेच्ने व्यक्ति) र भजनी रेन्जर अफिसको तेरोमेरोमा झगडा परि तिरो तिर्न बाँकी’ लेखिएको कैफियत फेला परेको थियो । आफूले जग्गा दर्ताका लागि निवेदन दिएपछि मालपोतका अधिकारीहरुले गाउँ विकास समितिको सिफारिस मागेका थिए ।

सो समयमा गाविसले २०२४ सालदेखि स्थायी रुपमा बसोबास गर्दै आएको भनी नरबहादुरलाई सिफारिस दियो । उनले सो सिफारिस मालपोत कार्यालयमा बुझाए । सो जग्गामा जग्गा विक्रीकर्ता तेजनारायणका छोरा गोविन्दले पनि दाबी गरे । गोविन्दलाई पनि सोही जग्गा दर्ताका लागि भन्दै गाविसले सिफारिस दियो । नरबहादुरका अनुसार त्यसपछि मालपोतले आफूलाई थाहा नै नदिइ गोविन्दको नाममा जग्गा दर्ता गराएका थियो ।

पहिलो निवेदनकर्तालाई कुनै जानकारी नै नदिइ गोविन्दको नाममा जग्गा दर्ता भएपछि दुषित दर्ता बदर गराइ पाउँ भनी नरबहादुरले जिल्ला अदालतमा मुद्दा दर्ता गराए । २०५९ मा अदालतले मालपोत कार्यालयको निर्णय सदर गर्यो ।

जिल्ला अदालतको फैसलाविरुद्ध नरबहादुर तत्कालीन पुनरावेदन अदालत दिपायल गए । पुनरावेदनले पनि २०६३ सालमा जिल्ला अदालतकै फैसला सदर गरिदियो । जग्गा सम्बन्धि विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा गोविन्दले सो जग्गा महुन्याल माध्यामिक विद्यालय (महुन्याल उच्च माध्यामिक विद्यालय) लाई दान दिए ।

तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज मिश्र पीडितको घरमा आइ बुझ्दा जग्गा विवाद रहेको थाहा पाएपछि विद्यालयले दान अस्वीकार गरेको नरबहादुरले बताए । त्यसपछि गोविन्दले सो जग्गा रेडक्रसलाई दान दिएका थिए ।

नरबहादुरकाअनुसार २०२४ सालदेखि नै सो जग्गामा उनीहरुले भोगचलन र बसोबास गर्दै आएका थिए । २०८० वैशाख २९ गते रेडक्रस भजनी उपशाखाका रामनारायण चौधरीलगायतको टोली आएर सो ठाउँबाट हट्न निर्देशन दिएको उनले बताए । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा छलफल भएपनि निश्कर्ष ननिस्किएको उनले बताए ।


उनकाअनुसार गत भदौमा घर भत्काउन रेडक्रसले प्रहरी प्रशासनसहित डोजर लिएर आएपछि त्यहाँका स्थानीय प्रतिकार गरेका थिए । त्यसपछि आफू पुनः सीडीओ कार्यालय जाँदा ‘कसैले घरबास उठाउँदैन, ढुक्क भएर बस्नुस्’ भन्ने आवश्वास पाएको उनले बताए ।

सो क्रममा सीडीओले २०५६ चैत २९ गते दर्ता भएको मठ नं.१७ को निर्णय नं. १२ फाइल मालपोत कार्यालयबाट मगाउने निर्देशन दिएपनि मालपोतले उक्त फाइल लुकाइदिएको उनको गुनासो छ । सीडीओले पहिला कसले निवेदन दिएको थियो भनी परीक्षणका लागि त्यो फाइल मगाए पनि लुकाइएको बताए ।

नरबहादुरकाअनुसार उनको घर भत्काउन सुरक्षा निकायका टोलीसहित रेडक्रस डोजर लिएर पुगेको थियो । त्यसबेला पनि घर भत्काउन असफल भएको रेडक्रसले अन्ततः कोही नभएको बेला पारेर आफ्नो सम्पत्तिमा डोजर चलाइएको उनको भनाइ छ ।

दुषित दर्ता खोरेज गरी २०२४ सालमा आफ्ना बाबुले किनेको जग्गा आफ्नो नाममा दर्ता हुनुपर्ने र रेडक्रसले डोजर चलाउँदा भएको क्षतिपूर्ति आफूले पाउनुपर्ने उनको माग छ । सो जग्गा २०८० साउन २१ गते वडा कार्यालयको रोहबरमा भएको सरजमीन मुचुल्कामा २०२४ सालदेखि नरबहादुरले घर बनाई निरन्तर हालसम्म जोतभोग गर्दै आएको विषय साँचो हो भन्ने पनि उल्लेख रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot