काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो ।
अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।
सर्वोच्चले कारण देखाऊ आदेशसँगै सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ नेतृत्वको तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको थियो । तर, सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ बाहेक बाँकी तीन जना उम्मेदवार चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र डा। नवराज अधिकारी अन्तर्वार्तामा उपस्थिति भएका थिएनन् ।