Logo

केपी ओलीको इमानको राजनीति बाढीले बगाएर लगिसक्योः देवेन्द्र पौडेल



काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै दलले चिर्कटोमा सही गर्यो रे भनी सुनेको हल्लाको भरमा राजीनामा नदिने बताएका हुन् । उनले एमाले–कांग्रेस मिलेर सरकार बनाउने बाटोमा गएपनि संवैधानिक व्यवस्थाअनुसार मात्रै सरकारबाट बाहिरिने बताए । ‘कहीँ कतै कुनै दलले बेलुका बसेर चिर्कटोमा सही गर्यो रे भन्ने हल्लाले प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ र ?’ उनले प्रश्न गरे ।

एमाले–कांग्रेसबीच सरकार बनाउने सहमति भएको भनी आफूहरुले पनि सुनेको भन्दै उनले प्रधानमन्त्री संवैधानिक व्यवस्थाअनुसार बाहिरिनका लागि प्रतिनिधि सभामा बहुमत नभएको पुष्टि हुनुपर्ने बताए । प्रधानमन्त्रीले विश्वासको मत लिने समयावधिसम्म कसैले केही गर्न नसक्ने उनको भनाइ छ । अहिलेसम्म प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने परिस्थिति पनि सिर्जना नभइसकेको उनले बताए ।

‘एमालेको र नेपाली कांग्रेसको गणित जोड्दा प्रष्ट रुपमा बहुमत छ । उहाँहरुको सहमति भयो रे भन्ने हामीले सुनेका छौं । त्यो पुष्टि हुनेृ त प्रतिनिधि सभामा होला नि ? प्रतिनिधि सभामा पुष्टि गर्नुपर्यो नि । प्रधानमन्त्रीले विश्वसको मत लिने समयावधि कानुनले दिएको छ,’– उनले भने ।

नेता पौडेलले एमाले अध्यक्ष ओलीको राजनीतिक नैतिकता बाढीले बगाएर लगेको टिप्पणी गरे । सोमबार प्रचण्ड र ओलीबीच ४ घण्टा छलफल भएको बताउँदै उनले सो क्रममा मिलेर जाने, प्रतिवद्ध भएर जाने र चुनावी सरकारको नेतृत्व ओलीले गर्नेबारे कुराकानी भएको उनले बताए । अब ओलीले राजनीतिक इमानदारिताको कुरा गर्न नसुहाउने उनको भनाइ छ ।

‘नैतिकता त हिजो बेलुकाको पानीले लगिसक्यो । हिजो चार घण्टासम्म पूर्व प्रधानमन्त्री केपी ओलीको प्रचण्डसँग कुराकानी भयो । उहाँहरु एकदम मिलेर जाने, प्रतिवद्ध भएर जाने, चुनावको नेतृत्व आफू (केपी ओली) ले गर्ने, देशभर राम्रा काम गर्ने, सरकारको समीक्षा गर्ने ढुक्कसित अगाडि बढ्ने कुरा भयो । तपाईँले राजनीति इमानदारिताको कुरा गर्नुभयो । बाढी आएर आज विहान बगाएर लगिसक्यो,’– उनले भने ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुराले माओवादी डराउनुपर्ने कुनै कारण नरहेको उनले बताए । कांग्रेस एमाले नमिली यही सरकार रहेको निरन्तरतामा छ महिनापछि ओली प्रधानमन्त्री बन्ने सहमति तोडिएको उनले सुनाए । कांग्रेस सभापति शेरबहादुर देउवा रिसाउनुलाई स्वभाविक मान्न सकिए पनि ओलीले छाडेर बाहिरिनु राम्रो नदेखिएको बताए ।

‘हामी डराएका छैनौं । सहमतिका आधारमा छ महिनापछि त केपीजी प्रधानमन्त्री यसै पनि हुनुहुन्थ्यो नि । यो लफडा किन गर्नुपरेको थियो ? शेरबहादुरजी यो क्षणमा रिसाउने कुरा स्वभाविक छ । किनभने अस्ति शेरबहादुरजीले तपाईँलाई नै हामी समर्थन गर्छौं भन्दाभन्दै छोडेर केपीजीसँग प्रचण्ड मिल्न जानुभएको हो । हाम्रो दल मिल्न गएको हो,’– उनले भने ।

प्रधानमन्त्रीले सदनमा नै ‘मिल्नुहुन्छ भने मिल्नुस्, हामी प्रतिपक्षमा बस्छौं’ भनिसकेको उनले बताए । ओली अहिलेसम्म प्रचण्डकै सिफारिसमा प्रधानमन्त्री बनेको पनि उनले स्मरण गराए । हिजो (मंगलबार) पनि प्रचण्डले ओलीलाई तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ भने बन्नुस् भनी प्रस्ताव गरेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot