Logo

कांग्रेस, एमाले र माओवादी नमिली शान्ति प्रक्रियाको बाँकी काम टुङ्गिँदैनः शेरबहादुर तामाङ



काठमाडौं, १९ असार । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनका लागि एमाले, माओवादी र कांग्रेस एक ठाउँमा हुन जरुरी रहेको बताए । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकले अर्कोलाई बाइपास गरेर शान्ति प्रक्रियाको काम टुङ्गोमा नपुग्ने बताएका हुन् । एमालेले कुनै पनि दललाई बाइपास गरेर जान नखोजेको उनले बताए ।

‘शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने हो भने माओवादी, कांग्रेस, एमाले एक ठाउँमा हुन जरुरी छ । एकले अर्को लाई बाइपास गरेर टुङ्गिदैन । दुईवटा प्रमुख राजनीतिक दल अगाडि बढ्दैगर्दा अर्को दल पनि त त्यहाँ मिसिन सक्छ । बाइपास गरेर जानुपर्छ भन्ने मान्यता हामीले कहाँ बोकेका छौं र ? यसलाई क्रोनिक बनाएर नजाउँ भन्ने हाम्रो उद्देश्य हो,’– उनले भने ।

उनले मुलुकको राष्ट्रिय राजनीतिलाई ठीक ट्याकमा हिँडाउनका लागि प्रमुख राजनीतिक दलहरुबीच छलफल, समझदारी हुनुलाई अन्यथा लिनन नहुने बताए । एमाले र कांग्रेसबीचको समझदारीमा अरु राजनीतिक दल पनि मिसिन पाउने उनले बताए । नेता तामाङले माओवादीले के–के न हुनलाग्यो भनेर आपत्तिन आवश्यक नरहेको टिप्पणी गरे ।

शान्ति प्रक्रियाका बाँकी काम जतिसक्दो चाँडो टुङ्ग्याउन जरुरी रहेको उनले बताए । कतिपय कुराहरुमा प्रणालीमै सुधार गर्नुपर्ने आवश्यकता भएर एमाले कांग्रेससँग मिल्न बाध्य भएको उनले बताए । अहिले तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था रहेको बताउँदै उनले संविधानमा केही न केही सुधार खाँचो रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot