Logo

निर्वाचन प्रणालीबाहेक संविधानका अरु कुरा संशोधन गर्न हुँदैनः गोविन्द पोखरेल



काठमाडौं, १९ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.गोविन्द पोखरेलले देशको आर्थिक अवस्थाले धान्न नसक्ने राजनीतिक संरचना संशोधन गर्नुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष गरी निर्वाचन प्रणाली संशोधन गरेर जानु आवश्यक रहेको बताए । उनले अहिले ३७ हजार निर्वाचित जनप्रतिनिधिलाई भत्ता दिएर पाल्ने प्रणाली रहेको बताउँदै त्यसलाई चुस्तदुरुस्त बनाउन आवश्यक रहेको बताए । उनले वर्तमान संविधानलाई धेरैले स्वीकार गरेकाले निर्वाचन प्रणालीभन्दा अरु कुरामा फेरबदल गर्न आवश्यक नरहेको बताए । उनले समावेशिता, संघीयता र गणतन्त्र भएको संविधान टिकाउन पनि निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताए ।

समानुपातिक निर्वाचन प्रणाली जमिनदारी प्रथाजस्तो भएको उनको टिप्पणी छ । उनले समानुपातिक प्रणालीमा दलका नेताहरुले आफ्ना आफ्न्तहरुलाई टीका लगाएर पद दिएको आरोप लगाएर । ‘समानुपातिकमा जमिनदारी प्रथा भयो । दलको नेताले टिको लाएर पद बाँड्ने विकृत रुप देखेका छौं । संविधानलाई धेरै चलाउन हुँदैन । हामीले निर्वाचन प्रणालीमात्रै भनेको हो । निर्वाचन प्रणाली स्वच्छ, प्रत्यक्ष र समावेशीसहित सानो आकारको बनाएर जानुपर्यो,’– उनले भने ।

कांग्रेस–एमालेको सरकार बनाएर मन्त्री बाँड्ने र विभिन्न काण्डहरुको फाइल लुकाउनेजस्ता काममात्रै भएमा उक्त सरकार अफापसिद्ध हुने उनको भनाइ छ । उनले कांग्रेस–एमालेले सरकार बनाउनुको उद्देश्यबाट बाहिर जान नहुने बताए । ‘अमुक व्यक्तिलाई मन्त्री बाँड्ने, विभिन्न काण्डहरुलाई लुकाउनेजस्ता काम गर्न थाले भने दुईटै दल फेरि अफापसिद्ध भएर अर्को समूह वा दलले ठाउँ लिनसक्छ । दलहरु जुन उद्देश्यका लागि एक ठाउँमा छन्, त्यो उद्देश्यबाट बाहिर जान हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot