Logo

माओवादी सचिव शर्माको दाबीः प्रधानमन्त्रीले विश्वासको मत नपाए कांग्रेसको नेतृत्वमा सरकार बन्छ (भिडिओसहित)



काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का सचिव दीनानाथ शर्माले एमालेले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्बाट विश्वासको मत लिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अल्पमतमा परेको खण्डमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरा उल्लेख नरहेकाले विश्वासको मत लिनु उपयुक्त हुने बताए । उनले प्रधानमन्त्रीले संसद्मा विश्वासको मतका लागि राखेको प्रस्ताव असफल भएको खण्डमा अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए ।

उनले संविधानविद् भनिएकाहरुले पनि अहिले उल्टोपाल्टो व्याख्या गरिरहेको बताए । संविधानले जे भनेको छ त्यो भन्दा बाहिर गएर गतिविधि गर्न कसैलाई पनि छुट नरहेको उनले बताए । अहिले संविधानको धारा ७६ (२) बमोजिमको सरकार रहेको स्मरण गराउँदै उनले फेरि सोही उपधाराबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न नसक्ने बताए ।

‘राजीनामा के को आधारमा ? राजीनामा दिने भनेर लेखिएको छ संविधानमा ? संविधानमा नभएको व्यवस्थालाई प्रचारवाजी गरेर, रुवाबासी गरेर किन हिड्नुपर्यो ? संविधानको धारा ७६(३) ले ठूलो पार्टीको नेतृत्वमा सरकार बनाउने भन्छ । ठूलो पार्टीको सरकार बन्यो भने त्यो सही हुन्छ, प्राकृतिक हुन्छ । संविधानले जे भन्छ त्यही गर्ने हो । संविधानविद्हरुले अब संविधानको धारा ७६ को ३ अनुसार ठूलो पार्टीको नेतृत्वमा सरकार बन्छ भनेर जानुपर्छ,’– उनले भने ।

साथै, प्रधानमन्त्री प्रचण्डले कांग्रेस–एमाले दुवै दललाई धोका दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनको भनाइ छ । उनले प्रचण्डले जहिले पनि दलहरु मिलाउने काम गरिरहेको र अरु दलहरु भने टुटफुट, धोकाधडीमा लागेको उनले बताए । बरु कांग्रेस–एमालेले माओवादीलाई पटक–पटक धोका दिएको उनले बताए ।

लोकतन्त्र संस्थागत गर्न, संविधानलाई सुदृढ गर्न, संविधान कार्यान्वयन गराउन र राष्ट्रियताको पक्षमा काम गर्ने कुरामा प्रचण्डले कहिले पनि तलमाथि नगरेको उनको दाबी छ । उनले आफूहरुलाई एमाले–कांग्रेस मिलेर सरकार बनाउँदा कुनै आपत्ति नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot