Logo

७६ (२) बमोजिम बनेको सरकारले विश्वासको मत पाएन भने उपधारा ३ मा जान्छः रमेश बडाल (भिडिओसहित)



काठमाडौं, १९ असार । नेकपा (एमाले) का नेता रमेश बडालले संविधानको धारा ७६ (२) अनुसार नै अब बन्ने सरकार गठन हुने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिनिधि सभाबाट विश्वासको मत नपाए र वा राजीनामा दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल बाहिरिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न कुनै संवैधानिक बाधा नरहेको बताए ।

संविधानको धारा ७६ (२) बमोजिम सरकार गठन भएपछि सुरुमै विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा भने ३ बमोजिमको सरकार गठन हुने उनको दाबी छ । अन्यथा जसरी प्रधानमन्त्री पदबाट हटेपनि पुनः सुरुदेखिकै उपधाराहरुको अभ्यास हुने उनको भनाइ छ । एक पटक विश्वासको मत पाएर ढलेका सरकारहरुको सन्दर्भमा प्रदेशहरुमा पनि सुरुदेखिकै उपधाराहरुको अभ्यास दोहोर्याइएको उनले स्मरण गराए ।

‘संविधानको धारा ७६ (२) बमोजिम यो सरकार गठन भयो, त्यो सरकारले विश्वासको मत लिन सकेन वा राजीनामा गर्यो भनेदेखि ३ मा जान्छ, सुरुमा गठन हुँदा बखतमा । सुरुमा जतिखेर ७६ (२) को सरकार बन्यो, त्यो सरकारले विश्वासको मत प्राप्त गर्न सकेन भने ३ मा जान्छ ।’ उनले भने, ‘तर, एकचोटी ७६ (२) को सरकारले विश्वासको मत प्राप्त गर्यो, पछाडि त्यो सरकारले कुनै पनि कारणले राजीनामा दिएर वा विश्वासको मत फेस गर्ने क्रममा विश्वासको मत प्राप्त हुन नसकेर त्यो सरकार विघटन भयो या प्रधानमन्त्रीले राजीनामा वा पद छोड्नुपर्ने अवस्था आयो भने फेरि ७६ (२) बाट सुरुवात हुन्छ ।’

अघिल्लो वर्ष गण्डकी प्रदेशमा खगराज अधिकारीको नेतृत्वमा १६८ (२) अनुसार सरकार बनेर विश्वासको मत पाएको उनले बताए । त्यसपछि उनले प्रदेश सभाबाट विश्वासको मत गुमाउँदा १६८ (२) बमोजिम नै सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बनेको बताए । उनले प्रत्येक प्रदेशहरुमा यस्ता अभ्यास भइरहेको बताउँदै विकल्प भएसम्म सुरुदेखि कै धारा अभ्यास हुनुपर्छ भनेर अदालतले पनि व्याख्या गरिसकेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot