Logo

रास्वपाको केन्द्रीय समितिमा समीक्षा प्रतिवेदनमाथि छलफल जारी, मुकुललाई कारबाही हुनसक्ने



काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । आज विहान ८ बजेदेखि जारी रहेको बैठकमा पार्टी महामन्त्री मुकुल ढकालले पेश गरेको समीक्षा प्रतिवेदन पेश भएको छ । महामन्त्री ढकालले आजको केन्द्रीय समिति बैठक लाइभ गर्न माग गरेको थिए । महामन्त्री ढकालको प्रस्तावलाई केन्द्रीय समितिको बहुमतले अस्वीकार गरेको थियो ।

त्यसपछि महामन्त्री ढकालले मुखमा कालो टेप लगाएर विरोध गरेका थिए । महामन्त्री ढकालले आफूले पेश गरेको समीक्षा प्रतिवेदनसमेत वाचन गर्न नमानेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेर सुनाएका थिए ।

सह–प्रवक्ता मनिष झाका अनुसार अहिले महामन्त्री ढकालले पेश गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । प्रतिवेदनमाथिको छलफलमा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो प्रतिक्रिया दिन ७ मिनेटको समय छुट्याइएको सह–प्रवक्ता झाले बताए ।

‘सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उहाँको छेउमै बसेर वाचन गर्नुभयो । लगभग डेढ घण्टाजति लाग्यो । त्यसमा निरन्तर छलफल हुनेछ । बढीमा ७ मिनेटमा आ–आफ्नो प्रतिक्रिया दिन सकिने छ । अहिलेसम्मको आँकलन अनुसार ३ घण्टा अझै बैठक लाग्न सक्छ,’– उनले भने ।

साथै, उनले महामन्त्री ढकाललाई बर्खास्त गरेर अरु कसैलाई सो पदमा नियुक्त गर्ने तयारी रहेको निर्णय भएको भनी आएको छलफलमा कुनै सत्यता नरहेको उनले बताए ।

सह–प्रवक्ता झाका अनुसार महामन्त्री ढकालले पार्टीमा छलफल हुनुभन्दा पहिला नै समीक्षा प्रतिवेदन बाहिर ल्याएको विषयमा पार्टीभित्र असन्टुष्टि चुलिएको छ । उनले आज नै त्यो विषयमा छलफलको एजेण्डा नभएपनि कुनै दिन छलफल अवस्य हुने बताए । उनले महामन्त्री ढकाललाई अनुशासनको कारबाही हुने वा नहुने भन्ने कुरा छलफलले नै निर्धारण गर्ने बताए ।

‘आंशिक असन्तुष्टिहरु आएको छ । सबैजना बल्ल बोल्न थाल्नुभएको छ । प्रतिवेदन छलफल गरेरमात्र बाहिर सार्वजनिक गर्दिनुभएको भए झन त्यो निखारिन्थ्यो नि । झन राम्रो हुन्थ्यो । त्यो गुनासो भन्दा पनि सबै जनाको सरोकार हो । अनुशासनको कारबाहीको बारेमा अहिले कुनै एजेण्डा छैन । यसको बारेमा छलफल भएर आगामी निर्णय लिइने छ । त्यसलाई पार्टीको सबै विभाग, पदाधिकारी र सदस्यहरुले गम्भीर रुपमा हेर्नुभएको छ । त्यसमा छलफल अवस्य हुनेछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot