Logo

जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर मुलुकको स्थायित्वका लागि अन्य दलसँग सहकार्य गर्न हामी तयार छौं: अध्यक्ष ओली



काठमाडौं,१९ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठुला दलहरूबिच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समितिसँग हालैको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भने, “हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।”

मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठुला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पारे ।

राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै उनले भने, “यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्ग प्रशस्त गरेको हो र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।”

“विनाशकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनः निर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो”, उनले स्मरण गरे ।

अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेका छन् । यसका लागि नेपालको परिवर्तनका संवाहक रहेका तीन ठुला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थायित्व दिने प्रयोजनका लागि आवश्यक संवाहकको पहल किन नगर्ने भन्ने प्रश्नमा अध्यक्ष ओलीले सो जवाफ दिए । उनले भने, “एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी हो, मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ । यसका लागि अग्रसरता लिने पक्षमा एमाले छ ।”

संविधान साध्य होइन, साधन हो । देश र जनताको सुख र समृद्धि साधन हो भन्दै अध्यक्ष ओलीले भने, “हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबिच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ । साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ । फेरि पनि संवाद आवश्यक छ । सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ । पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ । त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।”

एकप्रश्नमा उनले आफूहरूलाई सरकारमा बसेर जनतालाई कुनै पनि उपलब्धि दिन नसक्ने छुट नभएको जवाफ दिए । सरकारमा देशको विकास गर्न तथा जनतालाई सुविधा दिनका लागि जाने हो । जनतालाई सेवा सुविधा दिन हो । तर कसै कसैका लागि मात्र हुनेगरी काम गर्ने छुट हामीलाई सरकारमा बसेर नहुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, “जनताका समस्या सम्बोधन गर्न नसकेमा हामी सरकारमा बस्नुको औचित्य के हुन्छ र ? देश र जनताका समस्या सम्बोधन गर्न नसकिए कुनै पनि सरकारको अर्थ छैन ।” अध्यक्ष ओलीले संविधानले परिकल्पना गरेको प्रणालीको विकास र कानुनी निर्माण गर्नुपर्ने अवस्थामा आफूहरूले मिलेर जाऊँ भनेर कांग्रेससँग प्रस्ताव गरेको टिप्पणी गरे । यसमा कांग्रेस पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने– “लोकतन्त्रका आधारभूत प्रश्नमा हामी एक ठाउँमा छौँ र हुनुपर्छ । यो प्रणाली हामीले लडेर र रोजेर ल्याएको हो । यसलाई बलियो बनाउनुपर्छ । कार्यान्वयनका क्रममा स्थितिमा संविधान संशोधन पनि गर्नुपर्ने हुन्छ । किनभने चरम दबाबका बिच हामीले संविधान ल्याएको हो । संविधान नल्याउँदा नेपाल अराजकतामा फस्न सक्ने थियो, त्यसकारण कतिपय कमीकमजोरीका बिच हामीले संविधान ल्यायौँ । जनतालाई केन्द्रमा राखेर यसको सफल कार्यान्वयनका लागि हामीहरू संवाद र सहमतिमा लाग्नुपर्ने हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot