Logo

एमाले-कांग्रेस मिलेपछि रवि लामिछानेको निन्द्रा हराम भएको छः एमाले नेता रिजाल



काठमाडौं, १९ असार । नेकपा (एमाले) का युवा नेता रामप्रसाद रिजालले देशको अवस्था परिवर्तन गर्न एमाले–कांग्रेस मिलेर स्थायी सरकार बन्न लागेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी व्यवस्थालाई कायम राख्न एमाले–कांग्रेसको गठबन्धन आवश्यक रहेको बताए ।

‘एमाले र कांग्रेस सत्ता साझेदार नभइ यो देशको अवस्थालाई परिवर्तन गर्न सकिएन । २०६२÷०६३ सालको जनआन्दोलन, आदिवासी, जनजाति, मधेशीलगायत उत्पीडित वर्गहरु र कांग्रेस–एमालेले गरेको आन्दोलनहरु र सहमति, सम्झौताबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी व्यवस्थालाई कायम राख्नका लागि स्थिर सरकार आवश्यक देखियो,’– उनले भने ।

एमाले–कांग्रेस मिलेर सरकार गठन गरेपछि संविधान संशोधन हुने उनको भनाइ छ । उनले संविधान संशोधन गरेर सानातिना राजनीतिक दलको दोकान बन्द गरिदिनेसमेत बताए । एउटा, दुईटा सिट जितेर सत्तामा जान च्याँखे थाप्नेहरुको दोकान अब बन्द हुने उनले बताए । देशमा दुईवटा राजनीतिक शक्तिमात्रै आवश्यक रहेको बताउँदै उनले एउटा एमालेले र अर्को कांग्रेसले नेतृत्व गर्ने बताए ।

‘सानातिना दोकानहरुलाई अब बन्द गर्न आवश्यक छ । यो मुलुकमा अब दुईवटा शक्तिको आवश्यक छ । एउटा एमालेले नेतृत्व गर्छ, अर्को कांग्रेसले नेतृत्व गर्छ । विभिन्न पार्टीहरु च्याँखे थाप्ने, एउटा, दुईटा सिटको आधारमा सरकारमा जाने, सरकारलाई कमजोर बनाउने खेल भए । सानातिना दोकानहरुलाई बन्द गराउन पनि एमाले–कांग्रेसको गठबन्धन बनेको हो । भ्रष्टाचारीहरुलाई समात्न पनि यो गठनबन्धन हो,’– उनले भने ।

साथै, उनले केही दिनमा नै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उनले बताए । कांग्रेस–एमाले समीकरणको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी हुने उनको दाबी छ । कांग्रेस–एमालेको गठबन्धन बनेपछि सहकारी प्रकरणमा अब ठग्न पाइँदैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निन्द्रा हराम भएको उनको टिप्पणी छ । उनले रवि लामिछाने विचलित भइरहेको बताए । लामिछानेको पार्टी पतन भइसकेको नेता रिजालले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot