Logo

मुकुललाई हटाएर सन्तोष परियारलाई महामन्त्री बनाउन रास्वपा बैठकमा केन्द्रीय सदस्यको माग



काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक जारी छ ।

आज बुधबार बिहान ८ बजेदेखि सुरु बैठकको अधिकांश समय महामन्त्री मुलुक ढकालको पछिल्ला गतिविधि र उनले तयार पारेको प्रतिवेदनमाथि छलफल भईरहेको छ । महामन्त्रीका पछिल्ला गतिविधि, अभिव्यक्ति र प्रतिवेदनलाई लिएर अधिकांश सदस्य असन्तुष्ट छन् ।

बैठकको प्रत्यक्ष प्रशारण गर्नुपर्ने ढकालको प्रस्ताव अन्य पदाधिकारी र बहुसंख्यक केन्द्रीय सदस्यले अस्वीकृत गरिदिए । त्यसपछि प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्ताव पेस गर्न खोजेका ढकाललाई स्वयम् सभापति रवि लामिछानेले रोके । उनको प्रस्ताव वाचन गर्ने जिम्मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पाएका थिए । उनले प्रस्ताव वाचन गरेपछि खाना विश्राम गरिएको थियो । अहिले बैठक फेरि सुरु भएको छ ।

जारी बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले महामन्त्री ढकालले गलत समयमा प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले ढकाललाई हटाएर प्रमुख सचेतक सन्तोष परियालाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् । यद्यपी निर्णय भएको छैन् ।

यता खाना खाइसकेर बैठकको अपडेट गराउन निस्केका सहप्रवक्ता मनिष झालाई सञ्चारकर्मीले पनि सोही कुरा सोधेका थिए । ‘महामन्त्री ढकाललाई पार्टीले कारबाही गर्न लागेको हो ?’ भन्ने प्रश्नमा झाले अहिले नै यसै भन्न नसकिने जवाफ दिएका थिए ।

त्यसपछि झालाई, ‘मुकुल ढकाललाई महामन्त्रीबाट हटाएर सन्तोष परियारलाई महामन्त्री र प्रमुख सचेतकमा सोबिता गौतमलाई नियुक्त गर्न लागिएको हो ?’ भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा झाले पहिलेजस्तै यस विषय पनि आफूलाई जानकारी नभएको बताए । ‘अहिलेसम्म कसलाई के बनाउने भनेर छलफल नै भएको छैन’, उनले भने, ‘पछि को हुन्छ, के हुन्छ अहिले भन्न सकिएन, बैठक चलिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot