Logo

बोल्न पाईन्छ भन्दै मुखमा टेप टाँस्ने ती झाँक्री, यी डाक्टर !



काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । पार्टी मूख्यालयमा बिहान ८ बजेदेखि जारी बैठकमा विभिन्न विषयमा छलफल भईरहेको छ ।

आजको बैठकमा विषेशगरि महामन्त्री डा मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल हुने भनिएको छ । तर, प्रतिवेदन तयार पार्ने स्वय डा ढकालले भने आफ्नो सो प्रतिवेदन र पार्टीले सोधेको स्प्रष्टीकरणको जवाफ पेश गर्न पाएनन् । पार्टीको बैठक लाइभ गर्नुपर्ने माग राखेपछि सभापति रवि लामिछानेले उनलाई बोल्न दिएनन । बरु उनको प्रस्ताव सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पेश गरे ।

बैठकमा लाइभ गर्नुपर्ने आफ्नो माग केन्द्रीय समितिबाट अस्वीकृत भएपछि ढकालले आजको बैठकमा मुखमा टेप टाँसेर गएका छन् । माक्समाथि उनले कालो टेप टाँसेर सांकेतीक विरोध जनाएका हुन् । जसको अहिले चौतर्फी चर्चा भईरहेको छ ।

जान्नेलाई छान्ने नारा बोकेको पार्टीले प्रतिवेदन तयार पार्ने व्यक्तिलाई नै बोल्न नदिएको भन्दै रास्वपा नेतृत्वको आलोचना भईरहेको छ । गत वैशाखमा सम्पन्न इलाम-२ को उपनिर्वाचनमा रास्वपाले पासा पल्टाउने दाबी गरेको थियो । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि भएको सो उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले भारी मतान्तरले चुनाव जित्दा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानतसमेत जफत भएको थियो ।

इलाम-२ को उपनिर्वाचनमा शर्मानक हार व्यहोरेपछि रन्थनिएको रास्वपाले ढकाललाई देश दौडाहमा पठाएको थियो । पार्टीको निर्णय अनुसार नै देशका विभिन्न ३९ जिल्ला घुमेर मुकुलले आफ्नो प्रतिवेदन तयार पारेका थिए । समीक्षा यात्रा नाम दिएर १ महिना देशदौडाह गरेका ढकालले पार्टी पहिलेजस्तो नभएको निष्कर्ष निकालेका थिए ।

रास्वपा रास्वपाजस्तो नभएर रवि लामिछानेको मात्र पार्टी भएको, जमानत निक्कै खस्किएको र पार्टी गम्भीर विरामी भएको ढकालको निष्कर्ष थियो । ढकालले पार्टीलाई शल्यक्रिया गरेर बेलैमा उपचार नगरे विवेकशील साझाकै स्थितिमा पुग्ने उल्लेख गरेका थिए । पूराना दलबाट पार लाग्दैन भन्ने ठानेर राजनीतिमा आएको रास्वपाले सत्तालिप्सा देखाउँदै पूराना दलसँगै टासिँन नहुने भन्दै ढकालले काठमाडौंका मेयर बालन शाहहरुसँग मिल्नुपर्ने बताएका थिए ।

महामन्त्री डा ढकालको सो प्रतिवेदन सार्वजनिक भएपछि रास्वपामा तरंग छाएको छ । ढकालले हचुवाको भरमा प्रतिवेदन लेखेको र पार्टीमा छलफल नै नगरि मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई कारबाही गर्नुपर्ने माग पनि पार्टीमा उठेको छ । सो प्रतिवेदन सभापति लामिछानेलाई बुझाएपछि रास्वपाले उनलाई स्पष्टीकरण सोधेको थियो । ढकालले प्रष्टीकरणको जवाफ दिएनन । बरु उनले आजको बैठकमा ६ पेज लामो आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका थिए । तर, उनले बोल्न पाएनन् । पार्टी बैठकमा बोल्न नदिएर मुख थुन्ने प्रयास भएको भन्दै उनले टेप टाँसेर विरोध जनाएका हुन् ।

मुखमा टेप टाँसेर विरोध जनाएपछि सामाजिक सञ्जालमा फेरि एकपटक नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री छाएकी छन् । ढकालले जस्तै झाँक्रीले पनि केही वर्षअघि मुखमा टेप टाँसेर विरोध जनाएकी थिईन् । तत्कालीन नेकपा विघटनको मुखमा पुगेको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको पहिलो संसद विघटनको विरोधमा काठमाडौंमा नेकपाको माधव-प्रचण्ड समूहले आयोजना गरेको कार्यक्रममा झाँक्री मुखमा टेप टाँसेर मञ्चमा पुगेकी थिईन् ।

त्यसपछि माघ २८ गते तत्कालीन नेकपा नेतृ झाँक्रीले भृकुटीमण्डपमा आयोजना गरिएको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुखमा टेप लगाएर स्टेजमा गएकी थिइन्। अनि टेप खोल्नुअघि ‘प्रतिगमन मुर्दावाद’ लेखिएको कपडा शरीरबाट झिकेर फालेर भाषण गरेकी थिइन्। मुखमा मास्क लगाएर स्टेजमा पुगेकी झाँक्रीले भाषण गर्नुअघि मास्क झिकेर फालेकी थिइन्।

झाँक्रीले मञ्चमा पुगेर आफ्नो मुखको टेप खोल्दै भनेकी थिईन् ‘बोल्न पाईन्५ । यो देशमा । हामी बोल्नै जन्मिएका हौं । हामीले ल्याएको लोकतन्णमा बोल्न पाईन्छ । साथीहरु हामीले ल्याएको गणतन्त्रले कसैलाई पनि बोल्न छेक्दैन’ । सो टेप प्रकरणपछि निक्कै भाइरल बनेकी झाँक्री आज फेरि रास्वपा महामन्त्री ढकालले मुखमा टेप टाँसेपछि एकपटकध चर्चामा आएकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot