Logo

रविको समर्थनपछि प्रचण्ड झन हौसिए, ओलीलाई जसरी पनि रोक्ने रणनीति तय



काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरु राजीनामा नदिइ बालुवाटारबाट फर्किएका छन् । राजीनामा पत्र खल्तीमा हालेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ब्रिफिङपछि कन्भिन्स भएर राजीनामा नबुझाइ फकिएका हुन् ।

बालुवाटार स्रोतका अनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । सो क्रममा प्रचण्डले संसद् फेस गरेर विश्वासको मत पाउने आधारसमेत प्रस्तुत गरेको बताइएको छ । प्रचण्डले जसरी भएपनि सत्ता जोगाउने रणनीति सुुनाएपछि रास्वपाका मन्त्रीहरु कन्भिन्स भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिन अझै २९ दिनको समय छ । हिजो नेकपा (एमाले) का मन्त्रीहरुले राजीनामा बुझाएर समर्थन फिर्ता लिएको जानकारी गराएपछि मात्रै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रधानमन्त्री प्रचण्डले जसरी भएपनि कांग्रेसलाई कन्भिन्स गराउने र माओवादीसहितको गठबन्धनमा सरकारको निरन्तरता दिने रणनीति अपनाएको बताईको छ । अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेकाले अब उपधारा ३ को अभ्यास हुने धेरैको बुझाइ छ । संविधानविद्हरुले पनि संविधानमा भएका धाराहरु क्रमश अभ्यास गर्दै जानुपर्ने बताउँदै आएका छन् ।

यिनै आधार पेश गरेर प्रचण्डले रास्वपाका मन्त्रीहरुलाई कन्भिन्स गराएका छन् । रास्वपाका मन्त्रीहरुले पनि बरु छिट्टै विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । रास्वपाका मन्त्रीहरुको समर्थनपछि प्रधानमन्त्री प्रचण्ड झनै हौसिएर विश्वासको मतका लागि सक्रियता बढाउने तयारीमा रहेको बताइएको छ ।

वाम गठबन्धनको अपरिहार्यता बुझेर कांग्रेससँगको सहकार्य छाड्दा एमालेले फेरि बेइमानी गरेको प्रचण्डको बुझाइ छ । प्रचण्डनिकट स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि बेइमानी गरेको उनको निश्कर्ष छ । त्यसकारण जसरी भएपनि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीतिमा प्रचण्ड लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot