Logo

प्रचण्डलाई अब उच्च सम्मानका साथ विदाइ गर्नुपर्छः वरिष्ठ अधिवक्ता भट्टराई (भिडिओसहित)



काठमाडौं, २० असार । संविधानविद् एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब उच्च सम्मानका साथ विदाइ गर्नुपर्ने टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै वरिष्ठ अधिवक्ता भट्टराईले प्रचण्डको राजनीतिक योगदान, विचार र व्यक्तित्वका आधारमा उच्च सम्मानसहित विदाइ गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड देश र जनताका लागि केही गर्ने भनेर नै राजनीतिमा प्रवेश गरेको उनको भनाइ छ । प्रचण्डले अनेक उत्तारचढावका बावजुद पनि मुलुकको उन्नित र प्रगतिका लागि योगदान दिएको उनको बुझाइ छ ।

हिंसात्मक आन्दोलनको कार्यदिशा उचित थियो वा अनुचित थियो भन्ने कुरा समीक्षाको विषय हुनसक्ने बताउँदै उनले प्रचण्ड बाल्यकालदेखि नै मुलुकको रुपान्तरण, स्थायित्व र क्रान्तिको लागि समर्पित भएको बताए । प्रचण्डलाई उनले लामो राजनीतिक यात्रा पार गरेर आएको परिपक्व नेताको रुपमा चित्रण गरे ।

‘पछिल्लो अवधिमा उहाँले जनताको जनादेशअनुरुप शासन गर्नुभयो कि भएन ? त्यो भन्दापनि महत्वपूर्ण कुरा चाहीँ उहाँलाई सत्ता सञ्चालन गर्ने जनादेश थियो कि थिएन ? त्यो निर्णयमा उहाँ किन पुग्नुभयो भन्ने कुरा पार्टी र उहाँ स्वयंले समीक्षा गर्नुहोला ।’ उनले भने, ‘व्यक्तिगत रुपमा प्रचण्डलाई सबै नेपाली जनताले सम्मान, अझ उच्च सम्मानका साथ उहाँको अब विदाइ गर्नुपर्छ र उहाँले आफ्नो जीवन, राजनीति र लिएको विचारको समीक्षा गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री प्रचण्डमा शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल र बाबुराम भट्टराईमा भन्दा भावुकता बढी रहेको बताए । प्रचण्ड भावुक र कठोर उत्तिकै बन्नसक्ने नेताको रुपमा चित्रण गरे ।

वरिष्ठ अधिवक्ता भट्टराईले एमाले अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) नियुक्त गर्न सकिनेमा द्धविधा नरहेको दाबी गरे । प्रधानमन्त्री प्रचण्डको चाहना ७६ (३) रहेपनि अहिलेको अवस्थामा उपधारा ३ आकर्षित नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot