Logo

गणतन्त्र असफल भएपछि कांग्रेस-एमालेले संविधान संशोधन गर्न सरकार ढालेः धवल शमशेर



काठमाडौं, २० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले नेपालीहरुले गणतन्त्रवादीहरुसँग हिसाब माग्ने बेला आएको टिप्पणी गरेका छन् । आज (बिहीबार) शाही युवा शक्ति नेपालले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पनि नेपाली जनताले गणतन्त्रवादीहरुसँग हिसाब–किताब नखोज्ने हो भने देश गरिबी, अशिक्षा र बेरोजगारीको दलदलमा फसिरहने बताएका हुन् ।

‘नेपालीहरुले गणतन्त्रवादीसित हिसाब माग्ने बेला आइसकेको छ । अहिले पनि हामी हिसाब माग्न हिचकिचाउँछौं भने हामी गरिबी, अशिक्षा र बेरोजगारीको दलदलमा फसिरहन्छौं,’– उनले भने ।

महामन्त्री राणाले पूर्वराजा ज्ञानेन्द्र शाहको ७८औं जन्मजयन्ती मनाउनको लागि आगामी असार २३ गते मध्यान्ह १२ बजे नारायणहिटी दरबारको अगाडि उपस्थित हुने आग्रह गरे । उनले देशभक्त, गणतन्त्रका विरोधी, हिन्दु धर्म र राजसंस्थाका पक्षधरलाई पूर्वराजाको जन्मजयन्ती मनाउन उपस्थित हुन आग्रह गरे ।

साथै, उनले राप्रपाले निरङ्कुश राजतन्त्र नखोजेको प्रष्ट पारे । संविधानभित्र रहेर अभिभावकीय भूमिका निर्वाह गर्ने राजसंस्थाको कल्पना गरेको बताए । नेताहरुले कुनै दिन कुनै कालमा देशलाई अहित गर्न खोजेको खण्डमा त्यसलाई रोक्नका लागि राजसंस्थाको अपरिहार्य भएको बताए ।

उनले विश्वको २० वटा धनाड्य देशमध्ये आजसम्म ११ देशमा राजसंस्था कामय रहेको दाबी गरे । नेपालमा पनि आफ्नो परिवेश र माटो सुहाउँदो राजाको आवश्यकता रहेको बताए । दलहरुले गणतन्त्र असफल भएको बुझेर संविधान संशोधन गर्नका लागि सरकार ढालेको उनको आरोप छ । के–के कुरामा संविधान संशोधन गर्न आवश्यक छ भनेर जनतालाई सोधिनु पर्ने उनको भनाइ छ । गणतन्त्रवादीहरुलाई मन लागेको कुरामा मात्रै संविधान संशोधन गर्न राप्रपाले नदिने उनको भनाइ छ । उनले जनतालाई यो मौका नचुकाउन आग्रह गरे । गणतन्त्रवादीहरुले चाहेको जस्तोमात्रै संविधान संशोधन गर्न नदिने उनले बताए । वर्तमान संविधान, व्यवस्था र संघीयता असफल भइरहेको बताए ।

‘यो गणतन्त्र असफल भएको कुरालाई लिएर पार्टीहरुले संविधान संशोधन गर्नुपर्छ भनेर सरकार ढाले । अब के–के कुरामा संशोधन गर्ने भनेर त जनतालाई सोध्लान् नि ?’ प्रश्न गर्दै उनले भने, ‘गणतन्त्रवादीहरुलाई मन लागेको कुरामात्रै संशोधन गर्न त हामी दिँदैनौं होला नि ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot