Logo

कांग्रेस-एमाले मिलेर बन्न लागेको सरकारलाई जसपा नेपालको पनि समर्थन



काठमाडौं, २१ असार । जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले एमाले–कांग्रेससहितको गठबन्धनमा आफूहरुको पनि समर्थन रहने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको परिस्थितिमा कांग्रेस–एमाले नेतृत्वको सरकारलाई जसपा नेपालले समर्थन गर्नुनै उपयुक्त हुने बताए ।

विगतको भोगाइको शिक्षाबाट दुई ठूला दलहरु मिलेर सरकार बनाउनु लागिएको उनले बताए । उनले अहिलेको परिस्थितिमा कांग्रेस–एमाले नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको स्वरुप ग्रहण गर्ने विश्वास व्यक्त गरे । राम्रो गर्न खोज्दाखोज्दै जनतामा निराशा, अविश्वासलगायतका भाष्य निर्माण भइरहेको उनले बताए । यस्तो अवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउदा देश र जनतालाई फाइदा नै हुने उनको भनाइ छ ।

फरक प्रसंगमा उनले एमाले–कांग्रेसबीच अहिले कुन–कुन कुरामा संविधान संशोधन गर्ने भन्नेबारेमा स्पष्टता नआइसकेको बताए । देश र जनताको हितमा अग्रगामी सोचका आधारमा संविधान संशोधन गर्न उपयुक्त हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्