Logo

प्रधानमन्त्री प्रचण्डलाई माधवको ढाडसः सरकारले संसद् फेस गर्ने आँट राख्नुपर्छ



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद फेस गर्ने आँट राख्नुपर्ने बताएका छन् । आज (शुक्रबार) महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने बताएका हुन् ।

अहिले आफूहरु पनि सरकारमा रहेको बताउँदै उनले भने,‘हामी अहिलेको सरकारमा रहेका छौं । यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ ।’

एकीकृत समाजवादीले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न र परिवर्तनको गतिलाई तीब्र बनाउनका लागि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।

अध्यक्ष नेपालले कांग्रेस–एमालेले राष्ट्रिय सरोकारको विषयमा व्यापक परामर्श नगरी अगाडि बढेको टिप्पणी गरे । दुइवटा दलले मात्रै खुसुक्क सहमति गर्ने कुरालाई उचित नहुने उनको भनाइ छ । एमाले–कांग्रेसले संविधान संशोधनजस्तो विषयमा सबै दलसँग परामर्श गरी अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

‘यति महत्वपूर्ण राष्ट्रिय सरोकारको विषयमा व्यापक परामर्श गरेर मात्रै अगाडि बढ्नुपथ्र्यो । दुईटाले खुसुक्क गर्ने कुरा उचित होईन । यो तरिकालाई जायज भन्न सकिँदैन । कमसेकम १२/१३ वटा पार्टीहरु छन् । तिनीहरुलाई बोलाएर संविधान संशोधनजस्तो कुरामा परामर्श गर्न सकेको भए बिग्रिन्थ्यो ?’ उनले भने ।

अध्यक्ष नेपालले राजीनामा नदिने र संसद् फेस गर्ने प्रधानमन्त्री प्रचण्डको धारणालाई एकीकृत समाजवादीले सम्मान गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्