Logo

प्रचण्ड नेतृत्वको सरकार जोगाउन माधवले बढाए सक्रियता, सिंहदरबारबाट सिधै बालुवाटार हानिए



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जोगाउन सक्रियता बढाएका छन् । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने पनि तय भइसकेको छ ।

सरकारलाई समर्थन गर्ने दलहरु छलफलमा जुटेका जुटेका थिए । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अध्यक्ष नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ सहभागी थिए ।

उक्त पाँच दलबीचको छलफलमा विश्वासको मत प्राप्त गर्नका लागि हरसम्भव कोशिस गर्ने समझदारी बनेको थियो । संयुक्त छलफलपछि प्रचण्डसँग वान टू वान छलफल गर्न अध्यक्ष नेपाल प्रधानमन्त्री निवास बालुवाटार हानिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो अवस्थामा अध्यक्ष नेपाललाई विश्वास पात्रको रुपमा अगाडि सारेका छन् । अध्यक्ष नेपालमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कन्भिन्स गराउने मुडमा प्रचण्ड छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको निश्कर्ष निकालेका प्रचण्डले कांग्रेस सभापति देउवालाई पद हस्तान्तरण गरेर सत्ताबाट बाहिरिने रणनीति तय गरेको बताइएको छ ।

२०७८ सालमा अध्यक्ष नेपालले एमालेसँग विद्रोह गरी ओली नेतृत्वको सरकार ढालेका थिए । ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेकाअध्यक्ष नेपाल अहिले पनि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीतिमा छन् । उनलाई प्रधानमन्त्री प्रचण्डले दूत बनाएर कांग्रेस सभापति देउवा भेट्न पठाउने तयारी गरेको स्रोतको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot