Logo

षड्यन्त्रपूर्वक बनेको एमाले-कांग्रेस गठबन्धन अपवित्र छः माधव नेपाल



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले–कांग्रेस गठबन्धनको उद्देश्य पवित्र नरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) सत्तारुढ पाँच दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले नयाँ गठबन्धन षड्यन्त्रपूर्वक आएको बताएका हुन् ।

सत्तारुढ पाँच दलको बैठकमा सरकारका आगामी कदमका बारेमा छलफल भएको उनले जानकारीस् गराए । आफ्नो पार्टी लामो समयसम्म माओवादीसँग साथमा रहने भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए ।

अध्यक्ष नेपालका अनुसार सत्तारुढ दलहरुको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने जानकारी गराएका छन् ।

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अध्यक्ष नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डले सदनमा आफुमाथि अविश्वास आए त्यही अनुसार दृढतापूर्वक सामना गर्ने बताएको अध्यक्ष नेपालको भनाइ छ । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot