Logo

कांग्रेस-एमालेको कदम राजनीतिक नौटङ्कीमात्रै होः झलनाथ खनाल



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले पछिल्लो राजनीतिक परिघटनाले मुलुकलाई अराजकता र पश्चगमनतर्फ लैजानसक्ने आशंका व्यक्त गरेका छन् । आज (शुक्रबार) सत्तारुढ पाँच दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले एमाले र कांग्रेसको पछिल्लो कदमले लोकतन्त्रलाई सुदृढ नबनाउने बताएका हुन् ।

नेता खनालका अनुसार सत्तारुढ दलका नेताहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिन लागेको जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि एकीकृत समाजवादीको साथ रहने उनले बताए ।

नेता खनालले एमाले–कांग्रेस समीकरण राजनीतिक नौटंकीमात्रै रहेको टिप्पणी गरे । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता खनाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डले सदनमा आफुमाथि अविश्वास आए त्यही अनुसार दृढतापूर्वक सामना गर्ने बताएको नेता खनालको भनाइ छ । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot