Logo

एमाले नेता गैह्रेको टिप्पणीः अब प्रचण्डको जादुमय संख्याले करामत देखाउँदैन (भिडियोसहित)



काठमाडौं, २२ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैह्रेले अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रहेको जादुमयी संख्याले करामत देखाउन नसक्ने टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डको जादुमयी संख्याले करामत देखाउन नसक्ने भएकाले मत विभाजनको अवस्थासम्म नपुग्नै राम्रो हुने बताएका हुन् ।

संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेको बताउँदै उनले त्यसलाई कुनै अन्यथा मान्नुपर्ने अवस्था नरहेको बताए । तर, अफ्नो पक्षमा बहुमत छैन भन्ने प्रष्ट भइसकेको अवस्थामा मत विभाजनको अवस्थामा पुग्नु उचित नहुने उनको भनाइ छ ।

‘हामीले विगतमा सुनेको उहाँसँग भएको जादुमय संख्याले करामत देखाउने भन्नुभएको थियो । सायद त्यही जादुमयी संख्याको करामत देखाउनका लागि २८ गते विश्वासको मत लिन खोज्नुभएको होला । हामीले सदनमा त्यो जादुमय संख्याको करामत हेर्न, देख्न पाइने हो कि भन्ने आशा एउटा पक्ष छ ।’ उनले भने, ‘राजनीतिक रुपले, व्यहारिक रुपले सिनियर लिडर, पटक–पटक प्रधानमन्त्री भएको हिसाबले उहाँले अहिले विश्वासको मत लिने, मत विभाजन गर्ने ठाउँमा पुग्नु राम्रो हुँदैन । मत विभाजन नै गर्ने ठाउँमा उहाँ जानुहुन्छ भन्ने मलाई लाग्दैन । जानुभयो भने पनि अन्यथा मान्नुपर्ने कुरा भएन ।’

प्रचण्ड जुनसुकै प्रक्रियामा गएपनि संविधानको धारा ७६ (२) अनुसार नै केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्