Logo

सहकारी ठगीमा संलग्न भएकाहरुलाई बचाउन राज्यका संयन्त्रहरु प्रयोग गरियोः रमेश लेखक



काठमाडौं, २२ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा राष्ट्रको महत्वपूर्ण पदमा रहेका मानिसहरुको कुनै न कुनै रुपले संलग्नता देखापरेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नै केही सहकारीको रकम अपचलन, हिनामिना र दुरुपयोग गर्ने कार्यमा जोडिएको विषय उठेको बताए ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै सहकारी अपचलनको आरोप लागेपछि आफूहरुले सदनमा व्यापक रुपमा आवाज उठाएको बताए । सहकारी ठगीमा संलग्नहरुलाई संरक्षण गर्न राज्यका संयन्त्रहरु प्रयोग भएको उनले बताए । नेता लेखकले सहकारी ठगीमा संलग्नलाई बचाउन प्रहरी प्रशासन, महान्यायाधिवक्ताको कार्यालयदेखि मन्त्री र मन्त्रालय प्रयोग भएको बताए ।

‘सहकारीमा ठगी भएको छ, केही मानिस ठगीमा संलग्न भएका छन् । तिनलाई बचाउनका लागि राज्यका ठूला–ठूला अंगहरु प्रयोग भएका छन् । कहिले प्रहरी प्रशासन प्रयोग भएको देखिन्छ, कहिले महान्यायाधिवक्ता प्रयोग भएका देखिन्छ, कहिले मन्त्री, कहिले मन्त्रालय,’ – उनले भने । Photo by: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्