Logo

‘सरकार र कर्मचारीतन्त्रबीचको वर्तमान समस्या’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं, २२ असार । एक्टिभ एकेडेमी, बसुन्धारामा एमए पोलिटिकल साइन्स प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले ‘सरकार र कर्मचारीतन्त्रबीचको वर्तमान समस्या’ विषयक अन्तरक्रिया कार्यक्रम गरेका छन् । आज (सनिबार) रिपोर्टर्स क्लब नेपालमा उनीहरुले नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली, प्रा.डा. गोपीलाल न्यौपाने, राजनीतिक विश्लेषक विजय मिश्रलगायतको उपस्थितिमा मोर्डन पोलिटिक थ्यौरीअन्तर्गतको अतिरिक्त क्रियाकलापमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले ब्यूरोक्रेशी सिभिल सर्भिसमा मात्रै नभएर सबै संगठनमा रहेको बताए । उनले नेकपा (एमाले), कांग्रेस सबै राजनीतिक दलमा पनि ब्यूरोक्रेसी रहेको बताए । उनले अहिले विश्वमा सातौं एड्मिनिष्टेसनको ट्रेन्ड चलिरहेको बताए । अहिले नेपालको कर्मचारीतन्त्र न्यू पब्लिक गर्भनेन्समा रहेको उनको दाबी छ ।

उनले निजामती कर्मचारीहरुमा मुख्यगरी निष्पक्षता, इमानदारिता र व्यवसायिकताजस्ता गुण हुन आवश्यक रहेको बताए । कर्मचारीहरुमा परिवर्तन हुन नचाहेको आरोप रहेको उनले बताए । सार्वजनिक प्रशासन नभएको शासन व्यवस्था नै नहुने बताउँदै उनले यसमा सुधारको आवश्यक रहेको बताए ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. गोपीलाल न्यौपानेले नेपालमा ब्युरोक्रेटिक एड्मिनिष्टेसन रहेको बताए । उनले ब्युरोक्रेटिक एड्मिनिष्टेसनको चरित्र सेलफिस हुने, आफ्नो नीजी स्वार्थका लागि काम गर्ने, प्रमोशन खोज्ने, मालदार अड्डामा सरुवा खोज्ने, आफूभन्दा ठूलालाई ज्यूहजुरी गर्ने र सानालाई हेप्ने हुने बताए ।

व्यूरोक्रेटिक एड्मिनिष्टेसनले जनताको नाममा पैसा उठाएर जनतालाई केही पनि दिन नसक्ने उनको भनाइ छ । यस्तो प्रकारको कर्मचारीतन्त्रले आफू र आफ्ना परिवारलाई मात्रै हेर्ने र कमिशनमात्रै खाने उनको टिप्पणी छ ।
ब्यूरोक्रेटिक एड्मिनिष्टेसनकै कारण गोदाममा मल हुँदा किसानले नपाएको र कोभिड भ्याक्सिन हुँदा पनि कोरोना महामारीको बेला जनताले नपाएको उनले बताए । विकसित देशहरुले ब्यूरोक्रेटिक एड्मिनिष्टेसन छाडिसकेको बताउँदै उनले नेपालले भने अहिलेसम्म काखी च्यापिरहेको टिप्पणी गरे ।

नेपालले अब ब्यूरोक्रेटिक एड्मिनिष्टेसन छाडेर पब्लिक एड्मिनिष्टेसनको बाटो रोज्नुपर्ने बताए । जनताका समस्या सही ढंगले समाधान गर्नका लागि अहिलेको सन्दर्भमा नेपाललाई पब्लिक एड्मिनिष्टेसनको मोडल लागू गर्नुपर्ने बताए । स्वर्गीय पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेसमेत कर्मचारीहरुले काम नगरेको गुनासो गरेको उनले बताए । नेपालको कर्मचारीतन्त्रमा रिफर्म आवश्यक रहेको बताए ।

अर्का वक्ता राजनीतिक विश्लेषक विजय मिश्रले नेपालको राजनीतिक चरित्र दुर्गन्धित भएको बताए । उनले कानुन कसरी बन्छ भन्ने कुरा सांसदहरुलाई थाहा नभएको दाबी गरे । कर्मचारीहरुले कानुन बनाउने कुरामा सांसदहरुलाई ट्यूसन पढाउने गरेको उनको टिप्पणी छ ।

केही कानुनी समस्याका कारण पनि कर्मचारीहरुले काम गर्न समस्या रहेको उनले बताए । नेता र कर्मचारीबीचमा बदलाको भावना रहेको उनले बताए । उनले ललितपुर महानगरपालिकाले आयुक्तको घरमा डोजर चलाएपछि मयेर चिरीबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वर्षअघि कसैले दर्ता गराएको उजुरीका आधारमा पत्र पठाएको स्मरण गराए ।

नेता र कर्मचारीबीच जुँगाको लडाइँ हुँदा समस्या जस्ताको तस्तै रहेको उनको भनाइ छ । नेता असल र इमानदार हुनुपर्ने र कर्मचारीले पनि निडर भएर काम गर्ने अवसर पाएमा मात्रै देशको विकास हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्