Logo

एजेण्डामाथि प्रहार नगरेसम्म माओवादी कमजोर हुँदैन भनेर कांग्रेस-एमाले मिलेः चक्रपाणि खनाल



काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री चक्रपाणि खनालले आफूहरुलाई सत्तामा रहनु र बाहिरिनुमा त्यतिधेरै चासो नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले माओवादीले सत्ता लम्याउन नचाहेर नै आगमी असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिन लागेको बताएका हुन् । सानो वा ठूलो दल बन्नु स्वभाविक रहेको बताउँदै उनले माओवादीले उठाएको एजेण्डा अहिले पनि कमजोर नरहेको बताए । उनले माओवादीको एजेण्डा नसकाएसम्म माओवादीलाई कमजोर बनाउन सकिँदैन भन्ने बुझेर कांग्रेस–एमाले लागिपरेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक प्रावधानअनुरुप नै विश्वासको मत लिन लागेको उनले बताए । अहिलेको राजनीतिक परिदृष्यअनुरुप राजनीति सिधासिधी नजाने प्रष्ट देखिएको उनले बताए । ‘अहिलेको राजनीतिक परिदृष्य कता जाँदैछ भन्ने ठूलो कुरा हो । विश्वासको मत लियो, लिएन ? छोड्यो, छोडेन भन्ने कुरा प्रमुख होईन,’– उनले भने ।

संविधान संशोधनसम्म जाने भनेर कांग्रेस–एमालेले गठबन्धन गरेको भन्दै उनले यसले राजनीतिक कोर्शलाई राम्रोसँग अगाडि बढाउन नसक्ने बताए । उनले आफूहरु संविधान संशोन गर्नै हुँदैन नभनेको उनले बताए । ‘संविधानमा संशोधन गर्नै हुँदैन भन्ने पनि होईन । संविधान संशोधनमा हाम्रो पनि सहमति हुनसक्छ । अहिले जसरी चलखेल गर्ने र एक जना व्यक्तिलाई प्रधानमन्त्री बनाउनको लागि सबैतिर चलखेल गर्ने भन्नेमात्रै प्रश्न होईन । माओवादीलाई अहिले सत्ताबाट बाहिरिनु, रहनु यो कुराको कुनै चासो छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्