Logo

एमालेको मागः ‘प्रधानमन्त्री प्रचण्डले भर्खरै राजीनामा दिनुपर्छ’



काठमाडौं, २३ असार । नेकपा (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमा बसिरहन उचित नरहेको निश्कर्ष निकालेको छ । आज (आइतबार) बसकेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले अविलम्ब राजीनामा दिनुपर्ने निश्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विभिन्न राजनीतिक दलले समर्थन फिर्ता लिएपछि स्पष्ट अल्पमतमा परेको सरकारलाई राजकाजको अधिकार नरहेको बताए ।

‘अल्पमतमा परेको सरकारले अझै पनि राजीनामा दिएको अवस्था छैन । त्यसकारण आजको बैठकले लामो समयसम्म राजीनामा नदिइबस्ने कुरा अनुचित कार्य हो । अविलम्ब नेपाल सरकारका प्रधानमन्त्रीलाई राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्ग प्रशस्त गर्नका लागि बैठकले आह्वान गरेको छ,’– बर्तौलाले भने ।

अल्पमतमा परेको सरकारले विभिन्न निर्णयहरु गरिरहेको भन्दै उनले आपत्ति जनाए । वर्तमान सरकारले कुनै पनि निर्णय नगर्नका लागि हैसियत नराख्ने उनको भनाइ छ । बैठकले सरकारलाई कुनै पनि निर्णय नगर्नका लागि सचेत गराएको उनले बताए । ‘मत गुमाएको सरकारले अहिले पनि विभिन्न प्रकारको निर्णय गर्नु राष्ट्रिय हित विपरीत हुन्छ । संविधान विपरीत हुन्छ । त्यसकारण कुनै पनि निर्णय नगर्न बैठकले सरकारलाई सचेत गराएको छ,’– उनले भने ।

प्रधानमन्त्रीले यदि राजीनामा नदिएर विश्वासको मत लिएको खण्डमा विपक्षमा मतदान गर्ने निर्णय पनि भएको उनले बताए । साथै, एमाले संसदीय दलको बैठकले कांग्रेस–एमाले मिलेर सरकार बनाउने समझदारीको स्वागत गरेको छ । ‘केही समय अगाडि नेकपा (एमाले) र नेपाली कांग्रेसको बीचमा संविधानको धारा ७६ (२) बमोजिम नयाँ राष्ट्रिय सरकार गठन गर्ने महत्वपूर्ण समझदारी भएको छ । त्यस समझदारीलाई हाम्रो संसदीय दलको बैठकले स्वागत गरेको छ,’– प्रमुख सचेतक बर्ताैलाले भने ।File Photo/RN



प्रतिक्रिया दिनुहोस्