Logo

एमालेलाई माओवादी नेताको प्रश्नः गिरीबन्धुको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?



काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले कांग्रेस–एमालेले मध्यरातमा अमुक व्यक्तिको घरमा बसेर अपारदर्शी सहमति गरेको आरोप लगाएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले एमाले–कांग्रेसबीच भएको आधिकारिक सहमति बाहिर नआएको भन्दै उनले ‘अपारदर्शी र अनैतिक’ सम्झौताको संज्ञा दिएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग स्वार्ग गएपनि, नर्क गएपनि सँगै जाने भनेर ललितपुरमा आफ्ना नेताहरुले सहमतिको ड्राफ्ट गर्न पठाएको बताए ।

‘उहाँहरुले अपारदर्शी प्रकारको सम्झौता गर्नुभएको भन्ने हाम्रो निश्कर्ष छ । आज यतिबेला हामी यो संसद्मा छलफल गरिहँदासमेत दुई दलका बीचमा के–कस्ता सम्झौताहरु भए ? अधिकारिक रुपमा बाहिर आएको छैन । मिडिया ट्रायलका निमित्त उहाँहरुले विभिन्न प्रकारको ट्वीटहरु गर्नुभएको छ । त्यसैलाई मात्रै पत्याउनुपर्ने हो भने अलग कुरा हो ।’ उनले भने, ‘नभए उहाँहरुले मध्यरातमा अमुक व्यक्तिका घरमा गरेको सम्झौताभित्र के छ ? हामीले हेर्न पाएका छैनौं । अपारदर्शिता, अनैतिकता त्यहाँबाट सुरु भएको छ । दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि, स्वर्ग गएपनि सँगै जाउँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्नका निमित्त आफ्ना नेताहरुलाई खटाउने कहाँको नैतिकता हो । भर्खरै सत्तापक्षको कुर्सी छोडेर प्रतिपक्षमा पुग्नुभएका प्रिय कमरेडहरु यही हो नैतिकता ?’

प्रधानमन्त्री प्रचण्ड भुटानी शरणार्थी प्रकरणको फाइल फेरि खोल्ने कार्यमा अगाडि बढेपछि कांग्रेस–एमालेमा बैचैनी बढेको उनको आरोप छ । ‘भटानी शरणार्थी प्रकरणको फाइल फेरि खोल्ने भनेर प्रधानमन्त्री प्रचण्ड अगाडि बढ्नुभयो । बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएको तथ्य, प्रमाणहरु विस्तारै सार्वजनिक हुँदैगए । रोस्ट्रमबाटै गृहमन्त्रीले पनि भन्नुभयो । सार्वजनिक रुपमा प्रधानमन्त्रीले पनि बोल्नुभयो । बेचन झाको प्रमाणहरु आएपछि तपाईँहरु बेचैन हुँदै डुङ्गा प्वाल परेको देख्नुभयो,’– उनले भने ।

गिरीबन्धुको कालो धब्बाले धपक्कै छोपिएका र बेचन झा पक्राउ परेपछि बेचैनी बढेकाहरुले माओवादीलाई नैतिकताको पाठ सिकाउनु उपयुक्त नहुने उनको भनाइ छ । उनले तपाईहरु गिरीबन्धुको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरे ।

‘गिरीबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैन बनाएकाहरुले हामीलाई नैतिकताको पाठ सिकाउने ? मलाई लाग्छ यो नैतिकता होईन । तपाईँहरु पहिला गिरीबन्धु टि स्टेटको कालो धब्बा कसरी पखाल्ने ?’ उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्