Logo

प्रचण्ड नेतृत्वको सरकार ढल्छ, तरपनि एकीकृत समाजवादीले विश्वासको मत दिन्छः जगन्नाथ खतिवडा



काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेको बताएका छन् । आज (आइतबार) पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि एकीकृत समाजवादीले विश्वासको मत दिने बताएका हुन् ।

‘सरकारको बारेमा हामीले केही निर्णय गरेका छैनौं । सुन्दैछौं २८ गते विश्वासको मत लिने निर्णय भएको छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वासको मत प्राप्त गर्दैन, सरकार ढल्छ भन्ने देखिन्छ । हामी सरकारलाई विश्वासको मत दिन्छौं,’– उनले भने ।

नेकपा (एमाले), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलगायतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत प्राप्त गर्न १३८ सांसदहरुको समर्थन चाहिने भएपनि अहिले ६३ जना सांसदमात्रै उनको पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्