Logo

कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा २८ गतेभित्रै टुङ्गिने



काठमाडौं, २३ असार । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) बीच केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमति पश्चात सरकारमा सहभागी रहेको एमालेले विश्वासको मत फिर्ता लिएको छ । एमालेले विश्वासको मत फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गते विश्वासको मत लिँदैछन् । प्रचण्डले विश्वासको मत नपाएमा कांग्रेस–एमाले मिलेर सरकार गठन गर्ने बाटो खुल्ला हुनेछ ।

सरकार गठन र सञ्चालनका सन्दर्भमा कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएको भनिपनि उक्त सहमति पत्र अहिलेसम्म गोप्य राखिएको छ । कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिएर सरकारमा जाने समझदारी बनेको बताइएको छ । तर, कुनै दलले कुन मन्त्रालयको नेतृत्व गर्ने भन्ने अहिलेसम्म स्पट भइसकेको भने छैन ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मन्त्रालय भागबण्डाको बारेमा सामान्य छलफल भइरहेको छ । एमाले–कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकारमा कुन–कुन दल सहभागी हुने भन्ने अहिलेसम्म टुङ्गो नलागेकाले ढिलाइ भएको उनले बताए । नेता बर्तौलाले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म मन्त्रालय भागबण्डा टुङ्गिने बताए ।

‘सरकारको नेतृत्व हाम्रा अध्यक्ष केपी शर्मा ओलीज्यूले गर्नुहुन्छ । मन्त्रालयका बारेमा यसबीचमा हामी छलफल गर्नेछौं । त्यो छलफल प्रारम्भिक रुपमा केही अगाडि त बढेको छ । तर, निर्णयमा हामी पुगेका छैनौं । २८ गते बेलुकासम्म मन्त्रालयको भागबण्डाको बारेमा हामी टुङ्गो लगाउँछौं,’– प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्