Logo

प्रचण्डले विश्वासको मत प्राप्त गर्न सक्नुभएन भने देउवा प्रधानमन्त्री बन्नुहुन्छः माधव सापकोटा



काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटा ‘सुबोध’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा सबैभन्दा ठूलो दलका संसदीय दलको नेता प्रधानमन्त्री बन्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधानको धारा ७६ (२) अनुसारको सरकार ढलेपछि उपधारा ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने बताएका हुन् । उपधारा ३ अनुसार सरकार बन्ने अवस्था आएमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

‘असार २८ गते प्रधानमन्त्रीले संसद् फेस गर्छु भन्नुभएको छ । सबै पार्टीहरुसँग एक पटक मत माग्छौं हामी । विश्वास आर्जन गर्न सकियो, बहुमत पुर्याउन सकियो भने निरन्तर अगाडि जान्छ । हामीले विश्वासको मत प्राप्त गर्न सकेनौं भने यो सरकार ढल्छ । यो सरकार ढलेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्छ,’– उनले भने ।

उनले संविधानमा रहेको व्यवस्था पढेर सुनाउँदै ७६ (२) को सरकार असफल भएपछि कुनै धारा प्रयोग गरेर सरकार गठनको आह्वान गर्ने भन्ने कुरामा राष्ट्रपतिलाई स्वविवेकको अधिकारसमेत नदिएको बताए । उनले संविधानको धारा ७६ को उपधारा २ अन्र्तगत बनेको सरकार असफल भएमा उपधारा ३ आकर्षित हुने दाबी गरे ।

‘अहिलेको सरकार संविधानको धारा ७६ को उपधारा २ अनतर्गत बनेको हो । त्यसले विश्वासको मत प्राप्त गर्न सकेन भने स्वतः उपधारा ३ मा जान्छ,’– उनले भने ।

वर्तमान प्रधानमन्त्री प्रचण्डले राजीनामा दिए ७६ (२) अनुसार सरकार गठन हुनसक्ने र विश्वासको मत फेस गर्दा असफल भएमा उपधारा ३ अनुसारको सरकार गठन हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्