Logo

एमालेले आज पनि भन्यो: देश जलमग्न हुँदा अल्पमतका प्रधानमन्त्री बाँसुरी बजाएर संविधानको धारापानी खोज्न लाग्नुभयो



काठमाडौं,२४ असार । नेकपा एमालेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद ठाकुरप्रसाद गैरेले दुई ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भईसक्दा पनि प्रधानमन्त्रीले राजीनामा नदिएको बताएका छन् । उनले अल्पमतमा परेका प्रधानमन्त्रीले नयाँ गठबन्धन भत्काउन संविधानमा हुँदै नभएको धारा र उपधारा खोज्न लागिपरेको बताए ।

‘सरकारको कुरा के गर्नु सभामुख महोदय । हामीले बेला बेलामा पढ्दै र सुन्दैआएको कुरा रोम जलिरहेको बेला त्यहाँका राजा बाँसुरी बझाएर बसिरहेका थिए। भनेजस्तै हाम्रा अल्पमतका प्रधानमन्त्री बाँसुरी बझाईरहनु भएको छ । सरकार घोर अल्पमतमा परेको छ । यस्तो पनि हुँदो रहेछ । जिन्दगीमा भनेर गीत गाएर बसेको छ । बरु उडायो सबै सपना हुरी भन्ने गीत गाए हुने’ उनले भने ।

सांसद गैरेले देश पानी र बाढीले जलमग्न हुँदा प्रधानमन्त्रीप्रचण्ड संविधानको प्वाल खोज्न र वर्तमान समीकरण भत्काउन उद्दत रहेको बताए । ‘देशमा यो तहको परिस्थिति बनिरहेको बेला सरकारमा बसेका प्रधानमन्त्री धारा पानी खोज्दैछन् । संविधानमा प्वाल खोज्दै हुनुहुन्छ । यो नयाँ बन्ने सरकारलाई पनि अस्थिरतातर्फ लैजान सकिन्छकि भनेर प्रयत्न गर्दै हुनुहुन्छ । प्रष्ट रुपमा अल्पमतमा परेको प्रधानमन्त्रीले नैतीकताको आधारमा राजीनामा दिनुपर्छ’ सांसद गैरेले भने ।

एक हप्ताको बीचमा वर्षात्को कारण मानिसको मृत्यु हुने कुरा हाम्रो शासकीय प्रणाली र व्यवस्थापनमा कमजोरी रहेको उनले बताए। 

‘देशमा यस्तो अवस्था हुँदा प्रधानमन्त्रीज्यू संविधानमा प्वाल खोजिरहनुभएको छ। देशलाई अस्थिरतामा लान सकिन्छ कि भनेर प्रयत्न गरिरहनुभएको छ,’ गैरेले भने।  



प्रतिक्रिया दिनुहोस्