Logo

नागरिक समाजका अगुवा डा. दीक्षितको टिप्पणीः ‘गृहमन्त्री लामिछानेलाई ओली-प्रचण्डले खत्तम पारे’ (भिडिओसहित)



काठमाडौं, २४ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समस्या समाधान गर्नका लागि दुई ठूला दलबीच सरकार बन्न लागेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेस–एमालेको सरकार बनाउन भूमिका खेलेको बताएका हुन् ।

डा. दीक्षितका अनुसार एमाले अध्यक्ष ओलीले गिरीबन्धुमा संसद्बाट नियमहरु पास गरेर गिरीबन्धु टी स्टेट प्रकरमा आफूलाई सुरक्षित गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक थापा र बेचन झा पक्राउ परेपछि देउवा दम्पतीमा वैचैनी बढेको उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुका लागि ठूलो समस्या बन्दा कांग्रेस–एमालेको सरकार बन्ने परिस्थिति निर्माण भएको उनको दाबी छ ।

‘दुईटा दलका शीर्षस्थ नेताहरुको समस्या पर्यो । एउटाको गिरीबन्धु पर्यो । मुख्य पर्यो आरजु र देउवालाई पर्यो । किनभने जब बादलको छोरा समातियो, त्यो झा समातियो । अब पक्रिने भए यिनीहरुले भनेर आत्तिएर हाम फाल्दै देउवाको इन्ट्रेस्टमा ओलीले समर्थन दिएको मात्रै हो । उसलाई त समस्या थिएन, गिरीबन्धुमा संसद्बाट केही न केही नियम पास गरिसकेको थियो । उसलाई केही समस्या थिएन । तर, आरजुको लागि देउवाको लागि ठूलो समस्या भएर हाम फाल्दै दही चिउरा खान पुगेका थिए,’– उनले भने ।
कांग्रेस–एमाले भ्रष्टाचारको फाइल गुपचुप बनाउनमात्रै मिलेको उनको दाबी छ । भ्रष्टाचार र दण्डहीनताले देश खाइरहेको बताउँदै उनले कांग्रेस–एमालेको सरकारले पनि त्यसको विरुद्ध काम गर्न नसक्ने बताए ।

साथै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर खत्तम पारेको उनको टिप्पणी छ । साथै, लामिछानेले पनि केही गर्न नसकेको उनको भनाइ छ । गृहमन्त्री लामिछानेले जनताको विश्वास गुमाइसकेको उनको दाबी छ । ‘गृहमन्त्री रवि लामिछानेको इमेज केही छ भन्नुस् त मलाई ? रवि लामिछाने त खत्तम अवस्थामा छन् । उनलाई ओली र प्रचण्ड मिलेर खत्तम नै पारे,’– डा दीक्षितले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्