Logo

शुक्रबार राति बेचन पक्राउ पर्ने, शनिबार सरकार ढल्ने प्रपञ्च जनताले हेरिरहेका छन्ः स्वर्णिम वाग्ले



काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ आरजु राणाको संलग्नताबारे संसद्को ध्यानाकार्षण गराएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको शून्य समयलाई सम्बोधन गर्दै नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि आइतबार सत्ता समीकरणमा फेरबदल आएको कुरालाई जनताले राम्रोसँग हेरिरहेको बताएका हुन् । उनले ‘तत्कालीन प्रधानमन्त्री, उहाँको परिवार’ भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट निर्णय नै गरेर नेपालीलाई नक्कली शरणार्थी बनाइ अमेरिका पठाएको उनले बताए ।

अनलाईन मिडिया ‘उकालो’ मा प्रकाशित समाचारलाई स्रोत मान्दै उनले भने, ‘नेपालको उदयीमान, अनुसन्धानमूलक प्रतिष्ठित अनलाइन उकालोमा अडिओ टेपसहित विस्तृत लेख आएको छ । हालै १५ लाख रुपैयाँ राशीको पुरस्कारबाट पुरस्कृत नेपालका प्रतिष्ठित, विश्वसनीय पत्रकार देवेन्द्र भट्टराईले लामो बेलिविस्तार पनि लेख्नुभएको छ । तत्कालीन प्रधानमन्त्री, उहाँको परिवार र तत्कालीन गृह प्रशासनलाई सेटिङ गरेर क्याविनेटबाटै निर्णय गराएर नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चबारे नेपाल प्रहरीमा अनुसन्धन जारी छ । अमेरिकाको शक्तिशाली फेडेरल व्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) मा पनि केस विचाराधीन छ । शुक्रबार राति बेचन पक्राउ पर्ने, शनिबार सरकार ढल्ने प्रपञ्च रचिनु नेपाली जनताले चासोका रुपमा हेरेका छन् ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्