Logo

हुण्डीमार्फत हुने कारोबार नियन्त्रण गर्न सरकारसँग आजपाको माग



काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहले विदेशबाट रेमिटेन्स भित्र्याउने अनुमति पाएका कम्पनीहरूले नै हुण्डी कारोबारमार्फत अवैध अर्थतन्त्रको जालो बढाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले सरकारले चाहेको खण्डमा हुण्डी कारोबारलाई नियन्त्रण गर्न कुनै पनि कठिनाइ नरहेको जिकिर गरे ।

‘हुण्डी कारोबारको बारेमा यो सरकारको धारणा के हो । हामी त्यो जान्न चाहान्छौं । आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भईसकेको छ । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिनदहाडै बढिरहेको छ । कालो धनलाई सेतो बनाउने प्रयास भएपछि भ्रष्टाचार बढिरहेको छ । अपराधका घटनाहरु हुण्डी कारोबारले बढाउँदै लगेको छ । लागु औषध र सुन क्वीन्टलका क्वीन्टल भित्रिरहेको छ’ उनले भने ।

पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष साहले हुण्डी कारोबारलाई नेपालको संविधानले गम्भीर अपराधको रुपमा लिएको बताए । उनले सरकारले चाहेको खण्डमा हुण्डी कारोबार नियन्त्रण गर्न सकिने बताए । ‘नेपालको खर्बौ रुपैँया विदेश गइरहेको छ । विदेशमा रहेका नेपालीले पैसा पठाएको खवर घरमा नपुग्दै पैसा झिकेर व्यक्तिको हातमा परिसकेको हुन्छ । त्यो खालको हुण्डी कारोबारको डरलाग्दो संरचना बनिरहेको छ । यसलाई नियन्त्रण गर्न सरकारले किन चाहेको छैन’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्