Logo

एमाले सांसद गुरुङको रविलक्षित टिप्पणीः सूचना बेच्नेविरुद्ध कारबाही भएन, कसैले सन्यास पनि लिएनन्



काठमाडौं, २४ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले संसद्मा फाइल, फाइल सुन्दा कानै पाकिसकेको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले फाइलका कुरा धेरै गरेको र काम भने गर्न नसकेको बताए । उनले गृहमन्त्री लामिछानेले सत्ता भएको बेला दोषीहरुमाथि कारबाही गर्न नसकेको बताए । राजनीतिक सन्यास लिने र सूचना बेच्नजस्ता कुराहरु संसद्मा उठेको बताउँदै उनले यो अवधिमा कसैले सन्यास पनि नलिएको र कोही सूचना बेच्नेलाई कारबाही पनि नगरेको टिप्पणी गरे ।

‘म कम्तीमात्र बोल्ने गर्छु । सुनिराख्ने गर्छु, मैले धेरै पटक सुनिराखेको छु, पाक्ने हो भने कानै पनि पाकिसकेको छ । फाइलको कुरा, फाइलको कुरा ? गाउँघरमा एउटा भनाइ छ– भुक्नेले टोक्दैन । सत्तामा भएको बेला कारबाही गर्न सक्नुपर्ने हो ।’ उनले भने, ‘यहाँ मैले त्यति ठूलो कुरा पनि सुनेको छु– राजनीतिक सन्यास लिन्छु पनि भनेको छ, सूचना बेच्ने कुुरा पनि गरेको छ । कारबाही गरेको पनि देख्दिँन, सन्यास लिएको पनि देखिँदैन । को हो त्यो पनि चिनिँदैन । यस्तो कुरामा हामी छलफल गरिरहेका छौं । रुमलिरहेका छौं ।’

उनले संसद्मा १६ लाख भूमिहीन, खानेपानी नपाउने, विजुली बाल्न पाउने अधिकारबाट बञ्चित जनताको हीतमा र विदेशिएका युवाहरुको बारेमा छलफल हुन नसकेको बताए । उनले जनताको एजेण्डामा राजनीतिक दलहरु एक भएर अगाडि बढेमात्रै जनता खुसी हुने उनको भनाइ छ । संसारमा राष्ट्रपति, प्रधानमन्त्री भ्रष्टाचारको काण्डमा जेल गएको र मृत्यु दण्डको सजाय पाएको उद्धाहरण दिँदै उनले नेपालमा ठूला–ठूला भ्रष्टाचारको कुरा उठ्ने गरेपनि कोही जेल गएको नदेखिएको बताए । नेता गुरुङले सरकारमा रहेको बेलामा पूर्वाग्राही नभइ सत्यतथ्य ढंगले गलत गर्ने जो–कोहीलाई कारबाही गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्