Logo

देउवाको हातबाट नियुक्ति खानुभएको स्वर्णिमले कांग्रेसलाई पाठ सिकाउन मिल्दैनः राजेन्द्र बजगाईँ



काठमाडौं, २४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले आफ्नो पार्टीबाट उदयीमान भएर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका स्वर्णिम वाग्लेले नैतिकताको पाठ सिकाउन नमिल्ने टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट राष्ट्रिय योजना आयोगमा नियुक्ति खाएका स्वर्णिमले कांग्रेसलाई नैतिकताको पाठ सिकाउँदा आफूलाई आश्चर्य लागेको बताएका हुन् ।

‘होनाहार विद्धान मित्रले हाम्रै सभापतिको हातबाट नियुक्ति खानुभएको थियो । त्यो पनि राष्ट्रिय योजना आयोगमा । हाम्रो पार्टीबाट उदयमान भएर अर्को पार्टीमा गएर जितेर आउनुभएको विद्वान मित्रले हाम्रो पार्टीलाई पाठ सिकाइरहनु भएको देख्दाखेरी मलाई आश्चर्य लाग्छ । हिजो उहाँ प्रधानमन्त्री हुँदा लिएको पदभार, त्यो पनि नितान्त प्रधानमन्त्रीको क्षेत्राधिकारबाट नियुक्ति लिनुभएको थियो । उहाँलाई म नैतिकताको पाठ सिकाउन चाहन्छु,’– उनले भने ।

रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले आज नै संसद्को शून्य समयमा नक्कली भुटानी शरणार्थीसँग जोडेर कांग्रेस सभापति देउवा र आरजु राणालक्षित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको खण्डण गर्दै सांसद बजगाईँले डा. वाग्लेमाथि कटाक्ष गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्