Logo

प्रचण्ड कमरेड अहिले आक्रोशित हुनुहुन्छ, जिस्क्याउन जाँदैनौंः योगेश भट्टराई



काठमाडौं, २४ असार । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माओवादी केन्द्रसहितको समर्थनमा सर्वसम्मत रुपमा संविधान संशोधन हुने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई तिहाइ बहुमतको आधारमा मात्रै संविधान संशोधन नगरिने बताएका हुन् । उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रिसाएको र आक्रोशित भएर बसेको बताउँदै केही समयपछि सम्झाएर संविधान संशोधनका लागि समझदारीमा ल्याउने उनले बताए ।

नेता भट्टराईले दुईतिहाइबाट संविधान संशोधन गर्ने कोशिस गर्दा राष्ट्रिय सभामा आफूहरुको संख्या नपुग्ने कुरा पनि थाहा रहेको बताए । उनले माओवादीसँग रहेको सिट संख्याले प्रचण्ड प्रधानमन्त्री नबनेको दाबी गरे । शान्ति प्रक्रियामा योगदान गरेका मुख्य नेताहरु मध्ये एकको नाताले प्रचण्डलाई सुरुमा एमाले र त्यसपछि कांग्रेसले प्रधानमन्त्रीमा स्वीकार गरेको उनले बताए ।

‘रिसाएको बेलामा, आक्रोश भएको बेला मान्छेलाई धेरै जिस्काउनु हुँदैन । प्रचण्ड कमरेड अहिले रिसाउनुभएको छ, आक्रोशित हुनुभएको छ । अहिले उहाँलाई जिस्क्याउन गयो भने झम्टिनुहुन्छ । अहिले उहाँलाई जिस्क्याउने होईन । अहिले उहाँलाई सम्झाउने हो । मैले हिजो उहाँलाई संसद्मा सम्झाएको छु । …माओवादीलाई, विशेष गरेर प्रचण्ड कमरेडलाई हामी सम्झाउँछौं,’– उनले भने ।

संविधान संशोधन गर्न सहज नरहेको उनले बताए । सहज नरहेको कारण नै कांग्रेस–एमाले एक ठाउँमा आउनुपर्ने परिस्थिति निर्माण भएको उनको भनाइ छ । सर्वसम्मत ढंगबाट संविधान संशोधनमा लाग्दा माओवादीको पनि समर्थन प्राप्त हुने उनले विश्वास व्यक्त गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्