Logo

प्रचण्ड, ओली र माधवदेखि घनश्यामसम्मले पाए झलनाथबाट धोका



काठमाडौं,२४ असार । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले कर्मकाण्डी रुपमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ ।

असार १६ देखि २१ गतेसम्म काठमाडौंमा चलेको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको दाबी नेताहरुले गरेका छन् । यद्यपी पदाधिकारी र पूर्ण रुपमा केन्द्रीय कमिटी चयन भने भएको छैन् । ०७८ सालमा एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले एमालेकै निरन्तरतास्वरुप १०औं महाधिवेशन गरेको हो । यस महाधिवेशनबाट माधवकुमार नेपाल पुनः एक कार्यकाल अध्यक्ष दोहोरिएका छन् भने अध्यक्ष उठ्ने भन्दै खुट्टा उचालेका झलनाथ खनाल सम्मानीत नेता तथा घनश्याम भुसाल महासचिवमै रोकिएका छन् ।

महाधिवेशन आउन केही महिना अघिबाटै अध्यक्षमा जसरी पनि चुनाव लड्ने उद्घोष गरेका सम्मानीत नेता खनालले सहजै मैदान छाडिदिँदा नेपाल अध्यक्षमा दोहोरिन सफल भए, भने पुस्तान्तरणको नारासहित अध्यक्ष लड्ने तयारी गरेका भुसाल पनि पछि हट्न बाध्य भए ।

भुसाललाई पनि खनालको धोका

महाधिवेशन सकिएसँगै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले यसपटक भुसाललाई अध्यक्षमा सघाउने भनेर अन्तिममा धोका दिएको आरोप लागेको छ । हुन पनि १२ असारमा खनालनिवास डल्लुमा खनालले भुसाल, प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, युवा नेताहरूमा नरेश शाही र सन्दीप राईसहित भएको छलफलमा सर्वसम्मत भए आफू र निर्वाचन हुने भए भुसाललाई समर्थन गर्ने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धता जनाएको तेस्रो दिन सर्वसम्मत हुँदा आफू र निर्वाचन हुँदा भुसाल अध्यक्ष भनेर घोषणा गर्ने भनेर बुद्धनगरको क्वालिटी व्यांक्वेटमा कार्यक्रम राखिएको थियो । तर, खनालले उक्त कार्यक्रमा त्यस्तो घोषणा गरेनन् ।

सो कार्यक्रममा भुसाललाई अध्यक्षमा उठाउने घोषणा नगरेपनि भित्रभित्र भुसाल पक्षले अध्यक्ष लड्ने तयारी गरिरहेको भुसालनिकटका नेताहरु बताउछन् । अध्यक्षमा चुनाव लड्ने भुसालको तयारीलाई प्रस्तावित उपाध्यक्ष रामकुमारी झाँक्री, पूर्वमन्त्री प्रकाश ज्वालालगायतले खुलेर साथ दिएका थिए । तर, अन्तिम समयमा आएर खनाल माधव नेपालको पक्षमा लागेपछि अध्यक्ष बनेर एकीकृत समाजवादी हाँक्ने भुसालको सपनामा तुषारापात आएको छ ।

कुनैबेला माधव नेपालबाट एकीकृत समाजवादी चल्दैन् भन्दै हिँडेका खनालनै अन्तिममा माधवको समर्थनमा उत्रिएपछि भुसाल समूह पछि हटेको छ । भुसालको पुस्तान्तरणको नारालाई खनालले फेरेको काँधले साथ नदिएको चर्चा भईरहेको छ । त्यसोत खनालबाट धोका पाउने भुसाल पहिलो र एकमात्र नेता भने होईनन् । खनालले विभिन्न समयमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि धोका दिएको देखिन्छ ।

प्रचण्डले पाएको त्यो धोका

०५२ सालबाट तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र विद्रोह ०६२-६३ सालमा आएर टुंगिएपछि नेपालमा गणतन्त्र स्थापना भयो । २३८ वर्षसम्म निर्वाधरुपमा चलेको शाह वंशिय राजसंस्थाको अन्त्य भई गणतन्त्र घोषणापछि पहिलो संविधान सभाको निर्वाचनमा पहिलो दल बनेको (एनेकपा) माओवादीका अध्यक्ष थिए हालका प्रधानमन्त्री प्रचण्ड ।

१० वर्षसम्म भूमिगत रुपमा संघर्ष गरेका प्रचण्ड प्रधानमन्त्री हुँदाका सारथी थियो नेकपा एमाले । र त्यसका अध्यक्ष थिए झलनाथ खनाल । प्रचण्ड प्रधानमन्त्री बनेसँगै उनको नेपाली सेनासँगको सम्बन्ध बिग्रिन थाल्यो । माओवादीकै कारण राजसंस्था गुमेको बुझाई तत्कालीन सेनामा थियो । सेनामा प्रधानसेनापति थिए रुक्माङ्गत कटुवाल । उनी माओवादीप्रति पहिलैदेखि रुष्ट थिए । सरकारसँग तालमेल नमिलेपछि प्रचण्डले उनलाई हटाउन खाजेपछि सत्ता साझेदार दलसँग छलफल गरेका थिए । सो छलफलमा प्रचण्डको कदमलाई खनालले साथ दिने बचन दिएका थिए ।

सेनापति हटाउने प्रचण्डको कदमलाई साद दिने वचन दिएर खनाल चीन भ्रमणमा लागे । यता प्रचण्डले पनि प्रधानसेनापति कटुवाललाई बर्खास्त गरि कुलबहादुर खड्कालाई नयाँ प्रधानसेनापतिका लागि सिफारिस गरे । सो प्रकरणले कालान्तरमा प्रचण्डको सत्ता ढल्यो । तत्कालीन राष्ट्रपति रामवरण यादव सेनाको पक्षमा उभिएपछि प्रचण्डको सत्ता गुमेको थियो । यहिबीचमा चीन भ्रमणबाट फर्किएका खनालले आफू सेनापति हटाउने पक्षमा नरहेको र एमालेको साथ नरहेको सार्वजनिक अभिव्यक्ति दिएर प्रचण्डलाई धोका दिए ।

माधवलाई दिएको अर्को धोका

एमालेको बुटवलमा सम्पन्न भएको आठौं महाधिवेशनमा हाल एकीकृत समाजवादीमा रहेका खनाल र हालका एमाले अध्यक्ष केपी शर्मा ओली भिडेका थिए । ओलीलाई हराउँदै खनाल अध्यक्ष चुनिए । खनाललाई अर्को महाधिवेशनमा साथ दिने वचनसहित माधव नेपालले समर्थन गरेका थिए । बुटवल महाधिवेशनपछि ०७१ असारमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा आईपुग्दा एमालेका प्रष्ट रुपमा दुई लाईन शक्ति संघर्ष सुरु भईसकेको थियो । अध्यक्षमा पराजित ओलीले आफ्नो पक्षमा बलियो गुट बनाउँदै लगेका थिए भने नेपालपनि आफ्नै गतिमा अघि बढिरहेका थिए । अध्यक्ष जितेपछि खनाल भने कमजोर बनेका थिए । यद्यपी महाधिवेशनमा हार जितका लागि निर्णायक मत उनीसँग सुरक्षीत थियो ।

महाधिवेशनमा ओली र नेपाल अध्यक्षमा चुनाव लड्ने भएपछि आफू निकटका नेतालाई नेपालको प्यानलमा समेट्दै खनालले नेपाललाई साथ दिने घोषणा गरे । प्राविधिक कारण सो महाधिवेशन केही दिन लम्बियो । यसबीचमा ओलीले पनि कूटील चाल चले । खनाललाई राष्ट्रपति बनाउने आश्वासन ओलीले दिएपछि आफू पक्षका मतदातालाई भोटै नहाली खनालले घर फर्काए । निर्णायक मतदाता त्यसै घर फर्किएपछि नेपाललाई ४२ मतले हराउँदै ओली अध्यक्ष चुनिए । त्यसपटक नेपालले धोका पाए ।

अस्पतालको शैय्याबाट ओलीलाई पनि धोका

०७७ असार २३ गते सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपा विभाजनपछि एमाले र माओवादी पुर्ववत अवस्थामा फर्किए । पूर्ववत अवस्थामा फर्किएपछि माओवादी आफ्नै गतिमा अघि बढेपनि एमालेमा ठूलो समस्या देखा पर्यो । ओलीको कारण एमालेमा बस्ने वातावरण नभएको भन्दै माधव नेपालसहितले एमाले फुटाउने तयारी गरेपछि ओली समूहले १० बुँदे सहमति गरेर विभाजन रोक्ने प्रयास गर्यो । तर, पार्टी विभाजन भएरै छाड्यो ।

एमाले विभाजन भईरहँदा खनाल भने नेपालमा थिएनन् । उनी स्वास्थ्य उपचारका लागि भारतमा थिए । भारत जानुअघि खनाल निवास डल्लु पुगेका ओलीलाई आफू पार्टी विभाजनको पक्षमा नरहेको र एमालेमा नै रहने आश्वासन दिएर भारत उडेका थिए । खनाल भारतमै रहँदा १०बुँदे सहमित गरेर एमालेमै बसेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यलाई विशेष दूत बनाए भारत पठाएका थिए । तर, खनालले ओलीलाई धोका दिएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेर सम्मानीत नेता बने ।

यसरी ०६५ सालदेखि ०८१ सालसम्म आईपुग्दा खनालको बेइमानीबाट दुईजना पूर्व प्रधानमन्त्री, एक जना बाहलवाल प्रधानमन्त्री र अर्का एक पूर्वमन्त्रीले राजनीतिक धोका पाए ।



प्रतिक्रिया दिनुहोस्