Logo

ओलीजीको सक्रियतामा कांग्रेस-एमालेको गठबन्धन बन्योः कृष्णप्रसाद सिटौला (भिडिओसहित)



काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कांग्रेस–एमालेसहितको अब बन्ने सरकारले प्रगति गर्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधानसभाबाट संविधान जारी भएर दोस्रो निर्वाचनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको कार्यकाल सुखद नरहेको बताउँदै उनले अब बन्ने सरकारसँग सुविधाजनक बहुमत रहेकाले प्रगति गर्ने दाबी गरेका हुन् ।

‘कांग्रेस–एमालेसहितको संयुक्त सरकार हुन्छ । सुविधाजनक बहुमत, झण्डै दुईतिहाइ पुगेको । अब आगामी सरकारको कार्यकालमा देशले प्रगति गर्छ भन्ने हामीले अपेक्षा गर्नुपर्छ,’– उनले भने ।

एमाले–कांग्रेसको गठबन्धन केपी शर्मा ओलीको जोडबलमा बनेको उनले खुलासा गरे । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको साथ छाडेर एमाले रोजेपछि नै आफूले अहिले भइरहेको कुराको भविष्यवाणी गरेको उनले बताए । नेता सिटौलाले अब प्रचण्डले छलछामको व्यवहार छाड्नुपर्ने उनको भनाइ छ ।

‘हामीले कोर्श करेक्सन गरेको भन्दा पनि ओलीजीको बढी सकृयता भन्ने मलाई लाग्छ । राष्ट्रिय सभाको निर्वाचनपछि उहाँले एमालेसँग सम्झौता गर्नुभयो र कांग्रेसलाई छोडेँ पनि नभनी छोड्नुभयो । त्यसबेला मेरा केही नेता साथीहरुलाई राखेर मैले भनेको थिएँ– तपाईँले धोका दिनुभएको छ, यसको पश्चताप गर्ने दिन टाढा हुँदैन है भनेको हो । कांग्रेसले एमालेसँग कुरा गर्छ पनि भनेको हो मैले । पुष्पकमल दाहालजीले जुन प्रकारको व्यवहार कांग्रेससँग गर्नुभयो, त्यसको परिणाम हो । प्रचण्डले छलछामको व्यवहार छोड्नुपर्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्