Logo

प्रचण्डलाई चित्रबहादुरले भने: लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ चार बल्ड्याङ, अब तपाईंले जे गरेपनि हुनेवाला केही छैन



काठमाडौं,२५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदसमेत रहेका केसीले प्रचण्ड सत्ताका लागि बालकोट र बुढानीलकण्ठ धाएकै कारण यो हालत भएको बताए । ‘अहिले प्रधानमन्त्रीले खेल बुझ्नुभएन । पुस १० गते तपाईं जहाँ पुग्नुभएको थियो, त्यही दिनदेखि दशा सुरु भएको थियो । तपाईंले बुझ्नुभएन । तपाईं कति पटक बालकोट र बुढानीलकण्ठ पुग्नुभयो । यसरी चल्छ राजनीति ? पछिल्लो पटक तपाईंलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन’ उनले भने ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले प्रचण्ड धेरै उत्ताउलो भएकै कारण लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ भने जस्तो अवस्थामा पुगेको बताए । ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ भने जस्तो तपाईंले बल्ल भोग्नुभयो । तपाईंहरुको मन्त्रिमण्डल गठन गर्दा नै ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन लिएन, म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ । दालमा काला हे, बुढानीलकण्ठले आफ्नो पार्टीभित्र केही विवाद भएका कारणलाई आधार बनाएर फुत्त बालकोट पुग्नुभयो, त्यसको परिणाम भोग्नुभएको छ । अब तपाईंले केही गरे पनि हुनेवाला केही छैन’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्