Logo

ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड तय गर्न एमाले सचिवालय बैठक सुरु



काठमाडौं,२६ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा बैठक सुरु भएको हो । यसअघि हिजो दिउँसो १ बजेका लागि डाकिएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक आजका लागि सारिएको थियो ।

आजको बैठकमा २८ गतेपछि पार्टी अध्यक्ष ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड तय गर्नेछ । ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएपछि यसपटक काम गर्न सक्नेलाई अवसर दिने एमालेको तयारी छ ।

एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई मन्त्रीका दावेदार हुन् । यसअघि मन्त्री बन्न छुटेका कास्कीका विद्या भट्टराई र झापाका एलपी सावा लिम्बू मन्त्री हुने करिब निश्चितजस्तै भएको एमाले नेताहरु बताउँछन् ।

एमालेले प्रधानमन्त्रीसहित ११ मन्त्रालय र कांग्रेसले ११ मन्त्रालय लिने समझदारी भइसकेको छ। राष्ट्रिय सहमतिको सरकारको आकार दिने तयारी भएकाले अरू दल पनि गठबन्धनमा आउने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयको संख्या परिवर्तन हुन सक्ने नेताहरूले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गते प्रतिनिधि सभाबाट विश्वास मत प्रस्ताव राखेर निर्क्यौल भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुनेछ।



प्रतिक्रिया दिनुहोस्