Logo

देउवाले राष्ट्रपतिलाई ‘म प्रधानमन्त्री बन्दिनँ, केपी ओलीलाई नै बनाउनुस्’ भनेर पत्र लेखेको दाबी



काठमाडौं, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बहिर्गमन निश्चित भएपछि संविधानको धारा ७६ अन्तर्गत कुन उपधाराबाट सरकार गठनको आह्वान हुने भन्ने कुरामा विवाद देखिएको छ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसदहरुको जिकिर अब संविधानको धारा ७६ (३) अन्तर्गत सरकार गठन हुने छ । त्यसमा केही कानुनका ज्ञाताहरुले पनि समर्थन जनाएका छन् ।

नेकपा (एमाले), नेपाली कांग्रेसलगायतका दलहरुले सम्भावना कायम रहेसम्म संविधानको धारा ७६ (२) अनुसार जतिपटक पनि सरकार गठन हुनसक्ने दाबी गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले संसद्मा बहुमत गुमाइसकेका छन् । उनले यही असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । सत्ता समीकरणमा कुनै नाटकीय फेरबदल नआएमा उनले विश्वासको मत नपाउने निश्चित छ ।

एमाले नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले प्रचण्डले विश्वासको मत नपाएको खण्डमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बताए । नेता गैरेका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘म अहिले प्रधानमन्त्री बन्दिँन । अब संविधानको धारा ७६ (२) अनुसारकै सरकार बन्ने हो’ भनी पत्र पठाएका छन् ।

‘७६ (३) अनुसारको सरकार कसले बनाउने हो ? शेरबहादुर देउवाले । ठूलो दलको हिसाबले शेरबहादुर देउवा प्रधानमन्त्री बन्न जाने हो । जब कि शेरबहादुर देउवाले राष्ट्रपतिलाई दुई वा दुईभन्दा बढी दलको समर्थनको धारा (७६) को २ अनुसारको सरकार बनाउनका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा सिफारिस गर्छु भनेर समर्थन गरेपछि, लेखेर दिएपछि, अब शेरबहादुर देउवाले म प्रधानमन्त्री हुने होईन । ठूलो दलको हिसाबले कांग्रेसले सरकार बनाउने होईन । केपी शर्मा ओली प्रधानमन्त्री हुने हो भनेर लेखेर दिने ? शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने भ्रममा माओवादी बस्ने । कांग्रेस संसदीय दलका नेताले राष्ट्रपतिलाई लेटरप्याटमा लेखेर दिइसक्नुभयो,’–प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्