Logo

सचिवालयमा ओलीको ब्रिफिङ: अस्थिरता, बार्गेनिङ र दलगत स्वार्थ अन्त्य गर्न कांग्रेस र हामी मिल्यौं



काठमाडौं,२६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कुन व्यक्तिको नेतृत्वमा संविधान संशोधनका लागि आयोग बनाउने भन्नेबारे ठोस निर्णय नभएको बताएका छ्न ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका हुन् । अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भने भएको उनको भनाइ छ । तर, निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि उनले बताए ।

‘अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो । यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ’ ओलीले भने, ‘कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन’ ।

नेपाली कांग्रेस र एमालेबीच भएको सहमति अनुसार २८ गतेपछि प्रधानमन्त्री बन्न लागेका ओलीले अस्थिरता, बार्गेनिङ र दलगत स्वार्थ रोक्नका लागि दुई ठूला दल मिलेको प्रष्ट पारेका छन् । ओलीले भने ‘एमाले र कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ जाने भन्नेकुरा भ्रम फैल्याउनका लागि भनिएका हुन् । प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो । विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले करप्शनमा, अस्थिरतामा यस्तोमा जाने काम भयो । यी काम रोक्नका लागि हामी दुई दल मिल्ने निष्कर्षमा पुगेका हौं’ ।

ओलीले अब बन्ने सरकारले जनताका समस्या र आवश्यक्तालाई केन्द्र भागमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘हाम्रो अहिले उद्यमशिलतामा ध्यान जानु,कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा जोड दिनु र व्यावसायिकतामा ध्यान दिनु, उद्यमशिलता, औद्योगिकीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो,’ उनले भने, ‘उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनु आजका आवश्यकता हुन्। शिक्षालाई बढी व्यावहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो। जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ।’



प्रतिक्रिया दिनुहोस्