Logo

प्रधानमन्त्री प्रचण्डसहित चार दलका नेता बालुवाटारमा, के–के भयो छलफल ?



काठमाडौं, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच समाजवादी मोर्चा पुनर्गठनबारे छलफल भएको छ ।

आज साँझ नेपाल, खनाल र विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । समाजवादी मोर्चामा यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि सहभागी थियो । पार्टी विभाजनपछि उपेन्द्र यादवले समाजवादी मोर्चा छाडेको घोषणा गरिसकेका छन् । आजको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी भएको बताइएको छ । मोर्चामा अब कुन–कुन दल रहने भन्ने आगामी बैठकमा तय हुने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि ब्रिफिङ गरेको बताइएको छ ।

नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले विश्वासको मतका लागि सत्ता साझेदार दलका साथै अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । असार १७ गते एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने निर्णय गरेका छन् । दुई दलको प्रष्ट बहुमत हुँदा पनि प्रचण्ड भने विश्वासको मत लिएरै छाड्ने अडानमा छन् ।

विश्वासको मत पाए आफू नेतृत्वको सरकार अगाडि बढाउने र नपाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने तयारीमा प्रचण्डलगायतका नेताहरुले तयारी थालेका छन् । सोही तयारीअन्तर्गत अब विश्वासको मत नपाए स्वतः संविधानको धारा ७६ को उपधारा ३ को अभ्यास हुनुपर्ने उनीहरुको अडान छ । उपधारा ३ मा संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्