Logo

१४औं महाधिवेशनमा गरेको त्याग स्मरण गराउन बुढानीलकण्ठ पुगे प्रकाशमान, राखे ओली सरकारमा जाने इच्छा



काठमाडौं,२७ असार । शुक्रबारपछि बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीबारे केही दिनदेखि दुई दल एमाले र कांग्रैस आन्तरिक छलफलमा जुटेका छन् ।

संविधान संसोधनसहितका एजेण्डा लिएर बन्न लागेको नयाँ सरकारमा काम गर्नसक्ने र परिणाम दिनसक्ने नेतालाई मन्त्री बनाउने दुवै दलको तयारी छ । नेकपा एमालेमा मन्त्री छनोटको विषयमा खासै रस्साकस्सी नभएपनि नेपाली कांग्रेसमा भने आकांक्षीको लर्को लाग्न थालेको छ ।

बिहीबारमात्र पूर्व महामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह मन्त्री माग्दै सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । पत्नी सिर्जना सिंहलाई लिएर देउवा निवास पुगेका उनले ओली सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जाने इच्छा राखेका छन् ।

देउवासँग प्रकाशमान दम्पतीले करिब २० मिनेट बेग्लै भेट गरेका थिए । नेता सिंह यसपटक कांग्रेसबाट सरकारको नेतृत्व गरेर जान इच्छुक छन् । उनले १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन गरेको त्यागको समेत स्मरण गराएको बताइन्छ ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा देउवालाई सिंहले दोस्रो चरणमा सघाएका थिए । आफूलाई सघाएवापत रामचन्द्र पौडेललाई राष्ट्रपति र कृष्ण सिटौलालाई राष्ट्रिय सभामा लगेका देउवाले सिंहलाई यसपटक मन्त्री बनाएर सो गुण तिर्न चाहेको चर्चा भईरहेको छ ।

देउवासँगको भेटमा सिंहले पार्टीले गृह मन्त्रालय पाएमा आफू नेतृत्व गरेर जाने इच्छा राखेको छन् । तर, देउवाले गृहमा नेता रमेश लेखकको नाम फिक्स भईसकेको जवाफ दिएको स्रोतले जनाएको छ । सिंहले गृह नभए रक्षा मन्त्री बनेर सरकारमा जानेबारे कुरा राखेका छन् । देउवाले प्रष्ट जवाफ दिएका छैनन् । यद्यपी उनले यसपटक उपप्रधानमन्त्री नराख्नेबारे छलफल भईरहेको र सो छलफलपछि सबै कुरा टुंगो लग्ने जवाफ दिएको स्रोतको भनाइ छ ।

१७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो । दुई दलबीचच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने व्यक्तिहरुका बारेमा चर्चा भइरहे पनि टुंगो भने लागिसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्