काठमाडौं, २७ असार । प्रतिनिधि सभाको बैठक ३ मिनेट ५५ सेकेन्ड बसेर स्थगित भएको छ । नेपाल सरकारका कुनै पनि मन्त्री उपस्थिति नभएपछि आजको बैठक स्थगित भएको हो । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको छ ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेको भन्दै सभामुखको ध्यानाकार्षण गराएका थिए ।
‘संविधान पालना गर्ने प्रधानमन्त्रीले, मन्त्रीले संसद् चलेको दिन उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन ? कोही पनि उपस्थित नभएपछि सदन चल्छ, चल्दैन ?’ सांसद खतिवडाले प्रश्न गरेका थिए ।
सांसद खतिवडाले प्रश्न गरेसँगै वार्षिक प्रतिवेदन पेश गर्ने सम्बन्धि कार्यसूची सूचीबाट हटाइएको जानकारी गराउँदै सभामुख घिमिरेले बैठक स्थगित गरेका थिए । अब अर्को बैठक भोलि (असार २८ गते, शुक्रबार) विहान ११ बजे बस्ने कार्यसूची रहेको छ । File Photo/RN