Logo

अल्पमतमा परेपछि संसद् विघटन गर्न बानी परेकाले नैतिकताको पाठ पढाउन खोजेः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी रहेको बताएका छन् । उनले संविधानलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने बताए ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए ।

‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,’ उनले भने, ‘उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो । आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’

साथै, आफू अल्पमतमा परेपछि संसद् विघटन गर्न बानी परेका र संसद् विघटनको निर्णयलाई समर्थन गर्नेहरुले समेत आफूलाई नैतिकताको पाठ पढाएको उनले सुनाए । ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गरिरहनुभयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्