Logo

कांग्रेस–एमालेले देशलाई द्वन्द्वतिर लैजान खोजेको प्रधानमन्त्री प्रचण्डको आरोप



काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गराए ।

‘सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस्,’– उनले भने ।

राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने उनले बताए । ‘नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा सुरू गर्न सकिन्थ्यो । तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन,’– उनले भने ।

सरकारको सफलता नै सरकार ढाल्ने आधार बन्न गएको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले सरकारसँग बाँसबारीदेखि बालुवाटार खानखोज्ने वर्ग डराएको बताए । त्यही वर्ग डराएर आफ्नो शक्ति देखाउन पहिलो र दोस्रो ठूलो दल मिलाएको उनको भनाइ छ ।

‘सरकार नै ढल्ने आज जुन परिस्थिति बन्दैछ, त्यो सरकारले कानुनको पालना गराउने, विधिको शासन सुरु गर्ने, सुशासनमा सम्झौता नगर्ने अठोटका कारणले बन्न गयो । हिजोम्म कानुनमाथि नै शासन गरिराखेको वर्ग डरायो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्