Logo

प्रचण्डको दाबी: बाँसबारीदेखि बालमन्दिरसम्मको जमिन खोज्न थालेपछि शक्ति सन्तुलन खल्बलियो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको अभियानका कारण सरकार परिवर्तन भएको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालेपछि विभिन्न समूहहरू डराउन थालेको बताए ।

“सरकारको सुशासन अभियानले हिजोसम्म शासन गरिरहेको वर्ग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो । एउटा समूह डरायो । ललितानिवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तिको प्रक्रिया सुरु भयो अर्को समूह डरायो,” उनले भने, “भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठूलै समूह डरायो ।”

प्रचण्डले बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्तिसन्तुलन नै खल्बिलिन पुगेको दाबी गरे । त्यही शक्तिले कांग्रेस र एमालेलाई मिलाएको उनको दाबी छ ।

प्रचण्डले सदनमा रहेका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाउँदा सदन निरंकुशतातर्फ जाने दाबी गरे । उनले दुई ठूला दलको सत्ता यात्राले देशलाई प्रतिगमनतर्फ लैजान खाजेको आरोपसमेत लगाए ।

‘पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता प्रबर्धन हुन्छ । यहाँ त सरकार मात्र बनाउने होइन संविधानमाथि छेडछाड समेत गर्न खोज्दै हुनुहुन्छ । तपाईंहरूको यात्रा प्रतिगमततर्फ हो । हस्ताक्षर कसका घरमा गर्नुभयो ? सहमति कुन समयमा गर्नुभयो ? त्यसको हिसाब नेपाली जनताले राखेका छन्’प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्