Logo

‘प्रचण्डसँग बदला लिने नाममा लक्षित वर्गको पक्षमा बजेटमार्फत अघि सारिएको कार्यक्रम नच्यातियोस्’



काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग बदला लिने नाममा दलित, महिला, श्रमिक समुदाय र घाइते अपाङ्गहरुको पक्षमा बजेटमार्फत सारिएका कार्यक्रम नच्यात्न आग्रह गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेलाई उक्त आग्रह गरेका हुन् ।

‘प्रचण्डसँग बदला लिने नाममा दलित, महिला, श्रमिक समुदायका पक्षमा, घाइते अपाङ्गहरुको पक्षमा बजेटमार्फत अघि सारिएका कार्यक्रमहरु नच्यातियोस्,’– उनले भने ।

साथै, उनले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको दाबी गरे । आफू नेतृत्वको सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहको सरलीकरणको प्रयास गरेको उनले बताए । सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गरेको र जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गरेको दाबी गरे ।

आफ्नो कार्यकालमा देशको एउटा विशेष वर्ग कानूूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास भएको उनको दाबी छ । उनले यति, ओम्नी र गिरीबन्धुको कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने भाष्य निर्माण गरेको बताए । ‘कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्‍यो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्