Logo

कांग्रेस-एमालेलाई प्रचण्डको आग्रहः नयाँ सरकार संविधान नमिची बनाउनुस्



काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब बन्ने सरकार संविधान नमिची बनाउन कांग्रेस–एमालेलाई आग्रह गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अब बन्ने सरकार संविधानको धारा ७६ (३) अनुसार हुनुपर्नेतर्फ लक्षित गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई संसद् जोगाउने पक्षमा लाग्न आग्रह गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक संविधान विघटन गर्दा कांग्रेस–माओवादीसँगै उभिएको स्मरण गराउँदै अब पनि संविधान र संसद् जोगाउने पक्षमा लाग्न आग्रह गरेका हुन् ।

‘तपाईँहरु संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला । कांग्रेसका साथीहरुलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद् चाही बचाउनुहोला । दुई÷दुई पटक संसद् विघटन गरिँदा संविधान च्यात्ने दुस्साहस गरिँदा तपाईँ हामी सँगै लडेर बचाएको हो भन्ने कुराको महत्वलाई नविर्सनुहोला ।’ उनले भने, ‘संविधान नकुल्चिएसम्म बहादुर भइँदैन भन्ने साथीहरुले संसद् नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामीले मिलेर जोगाएका हौं, अब पनि जोगाउनुपर्छ । आफू पनि जोगिइनु पर्छ ।’



प्रतिक्रिया दिनुहोस्